प्रति १० व्यक्तिमध्ये एक जनामा संक्रमण भइसकेको छ – डब्ल्युएचओ

काठमाडौं, २० असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।

विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्ल्युएचओले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

विश्वभर तीन करोड ५६ लाख मानिस संक्रमित भएको पुष्टि भए पनि यो संख्या ८० करोड नजिक रहेको डब्ल्युएचओको अनुमान छ ।

विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।

थपिए २ लाख ६४ हजार संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२ लाख ६४ हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५६ लाख ९५ हजार ४११ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार २५० जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८९२ पुगेको छ ।

मंगलवार विहान सम्म ७७ लाख ८४ हजार ८४७ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ८८३ को अवस्था गम्भीर छ ।अहिलेसम्म २ करोड ६८ लाख ६४ हजार ६७२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ७९ हजार नाघेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति