रुकुमकोटमा हट्यो निषेधाज्ञा

रुकुमपूर्व, १४ असोज । रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ । जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यही असोज ७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साताअघिदेखि रुकुमकोट बन्द गरिएको थियो । रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ राईको भनाइ छ । जिल्लावासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको पनि प्रशासनले निगरानी गर्ने छ । कोहीकसैले लापरबाही गरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही गरिने प्रजिअ राईले बताए । अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति