स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे ।

आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी रहेका थिए ।

पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा यात्रुको सुरक्षाका लागि एयरलाइन्सले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड, स्वास्थ्य सावधानीको निरीक्षण तथा अवलोकन गरे । उनले स्वास्थ्य सावधानीका लागि थप सजगता अपनाउन र स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्न एयरलाइन्सलाई निर्देशन दिए पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।टोलीले आन्तरिक टर्मिनलको साथै अन्तर्राष्ट्रिय टर्मिनलको अवलोकन तथा सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभार लागू गरिएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण झण्डै ६ महिनापछि आजदेखि आन्तरिक उडान शुरु भएको थियो । सामान्य अवस्थाको २५ प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ । शुरुको सातादिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक ५० वटा सम्म उडान सञ्चालन गरिनेछ । आज बुद्ध एयर र यती एयरलाइन्सले मुख्य गन्तब्यमा उडान भरेका छन् । बुद्धले आफ्नो राजविराज बाहेक सबै गन्तब्य र यतीले पोखरा, चितवन र विराटनगरमा उडान भरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति