प्राकृतिक चिकित्सालयबाट ५० संक्रमित निको भई घर फर्किए

चितवन ५ असोज । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचार पछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन् ।

गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा। हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन् । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उनले जानकारी दिए । बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ ।

बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य ३ सय ४ जना होम आइसोलेशन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन् । महानगरमा हालसम्म १ हजार १ जना सङ्क्रमित भइसकेका छन् । यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ती मध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन् ।

पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आइसोलेशन तयार गरेका छन् । लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेशन र घरमै राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति