दुल्लू, १ असोज । दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् ।
यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती शुरु गरेका जाहरकोटका किसान चन्द्रबहादुर थापाले तरकारी खेतीबाटै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन् । उनले २० रोपनी जग्गामा गरेका तरकारी खेतीको आम्दानीले दुई छोरालाई सब—इञ्जिनीयर पडाएका छन् । अहिले दुबै छोरा नेपाल सरकारको जागीरे छन् ।
त्यस्तै, नारायण नगरपालिका–२ का अध्यक्ष रेशमबहादुर थापाले पनि करिब २५ रोपनी जग्गामा गरेका व्यवसायिक तरकारी खेतीबाट वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्छन् । चन्द्रबहादुर र रेशमबहादुर मात्र होइन, यहाँका प्रायः सबै घरपरिवारले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । सरकारी तथा अन्य पेशामा आवद्ध भएकाले पनि बिहान बेलुकाको समयलाई सदुपयोग गर्दै तरकारी उत्पादनमा लागेका छन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जाहरकोटबाट मात्रै वार्षिक रु ७ करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । “यहाँबाट उत्पादित तरकारी जिल्लाबाहिर पनि जाने गरेको छ”, व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका किसान सर्वजित भण्डारीले भने, “तरकारी खेतीबाट वार्षिक रु १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ ।” आठ वर्षअघि भाडामा जग्गा लिएर तरकारी खेती शुरु गर्नुभएका भण्डारीले अहिले तरकारी लगाएको सबै जमीन खरिद गरेर आफ्नो नाममा सम्पति जोडिसकेको छ । त्यति मात्र होइन, यसैको आम्दानीले सुर्खेतमा पनि दुई वटा घडेरी जोडिसकेको उनको भनाइ छ ।
तरकारीको आम्दानीले आफ्नो जीवन नै सुखी बनाएको वडाध्यक्ष थापाको भनाइ छ । छत्तीस वर्ष शिक्षण पेसामा संलग्न हुँदा र अहिले वडाध्यक्ष हुँदा पनि आफूले तरकारी खेती निरन्तर रुपमा गरिरहेको उनले भने, यहाँको तरकारी दैलेख सदरमुकाम, सुर्खेत र नेपालगञ्जलगायत बजारमा विक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए । “यहाँको उत्पादनले भारतबाट आउने तरकारीलाई विस्थापित गराएको छ”, उलने भने, “विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले पछिल्लो समय यहाँका किसान अर्गानिक तरकारी खेतीमा जोड दिएका छन ।” उनीहरु जैविक विषादीको प्रयोग गरी रोग र कीरा नियन्त्रण गर्न थालेका छन् । जाहकोटलाई नमूना तरकारी केन्द्रको रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए ।
प्रतिक्रिया