कोरोनाबारे अफवाह फैलाउने प्राकृतिक चिकित्सक पक्राउ

काठमाडौं,२२ भदौं । अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई आज ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अङ्ग निकालेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेको भन्ने जस्ता अभिव्यक्तिसमेत दिएको उनले बताए । यसअघि पनि उनले पटक–पटक सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाइरस सङ्क्रमणबारे भ्रम फैलाउने तथा विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिँदै आएका थिए ।

आफूलाई प्राकृतिक चिकित्सक भएको बताउने लिम्बू हाल ललितपुर नक्खिपोटमा बसोबास गर्दै आएका थिए । उनलाई थप अनुसन्धान गरी कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति