वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

काठमाडौं, २० भदौैं । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनको ६७ बर्षिया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ ।

घटनाको प्रकृति हेर्दा तीन÷चार दिन अगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुग्नुभएका प्रनाउ चिमरियाले बताए । “यही भदौ १७ गते दिउँसो साढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्”, उनले भने“अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।”

घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रजिअ पौडेलले जानकारी दिए । घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोस टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए ।

“अविवाहित दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बसेकी रहिछन्”, उनले भने, “उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तिको लोभमा उनीहरुको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति