पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छ: पर्यटनमन्त्री भट्टराई

काठमाडौं १६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताए ।

इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिनुहँुदै उनले प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको इन्द्रजात्रा पर्वले कृषि प्रधान मुलुकको समृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे

मन्त्री भट्टराईले कोभिड–१९ महामारीकाबीच आवश्यक स्वास्थ्य सावधानी अपनाएर मुलुकका सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी रहेको बताए । ‘हाम्रो देशको धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको पहिचान बोकेको पर्व इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

शत्रु पराजय भएपछि विजय उत्सवका रुपमा मनाउने किंवदन्दीअनुसार विशेष गरी काठमाडौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानमा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने चलन छ ।

इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन गत वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका मेयरलाई निमन्त्रणा गरी यो पर्वको प्रत्यक्ष अवलोकनसमेत गराइएको थियो । यो पटक विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण अन्य क्षेत्रजस्तै यस्ता मौलिक सांस्कृतिक पर्व पनि प्रभावित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति