काठमाडौंभित्र १५ हजार सङ्क्रमित रहेको अनुमान, आजदेखि ट्रेसिङ र टेस्टिङको कार्य सुरु

काठमाडौं, ९ भदौ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा आज मंगलवारदेखि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयको टिमसहित मङ्गलबारदेखि नै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाउछौँ’, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने , ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौँ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टिम पनि हाम्रो साथमा रहने छ ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्कअनुसार २७ सय ४६ जना सङ्क्रमित भेटिएको भन्दै त्यसका आधारमा झण्डै २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नुपर्ने हुन सक्ने बताए । उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए। ‘पीसीआर औषधि होइन, त्यसैलै रहरले परीक्षण गर्नेहरुलाई होइन, कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजी–खोजी हामी परीक्षण गर्छौँ । सञ्चारमाध्ययमले पनि सहयोग गर्नुहोला ।’

त्यसैगरी बैठकले उपत्यकाका पालिकाबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा फेरि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । ‘उपत्यकाका पालिका तहबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ’, उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने , ‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’ उनले निषेधाज्ञाको अवधिभित्रै कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताए । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई मङ्गलबारदेखि नै १८ जना फोकल पर्सन तोक्ने प्रतिबद्धता व्यक्त गरेको छ’, उहाँले भन्नुभयो, ‘हामी उहाँहरुसँग सहकार्य गरेर मंगलवारबाटै फिल्डमा जान्छौँ ।’

बैठकमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए । ‘काठमाण्डौभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने , ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ ।

त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’ उनले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई सङ्क्रमित व्यक्तिलाई समुदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ उनले भने । ‘ट्रेस टेस्ट आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस्, हामी सहयोग गर्न तयार छौँ’, उनले भने , ‘तपाईँहरुले नेतृत्व लिनुपर्छ । मन्त्रालय, विभाग, जिल्ला सहयोग गर्न तयार छ ।’स्वास्थ्य सेवा विभागका डाक्टर अमित पोख्रेलले कन्ट्याक्ट ट्रेसिङबाट चेन ब्रेक गर्न सके ८५ प्रतिशत सुरक्षित हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति