‘फेरि सँगै छमछम नाचौँला नि…!’

लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ
बस्न पर्यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी

(गायक खेम क्षेत्री र मधु क्षेत्री )

यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित भएको छ ।

पोखरा – ८ न्यूरोडका कस्मेटिक पसल सञ्चालक सन्तु पौडेलले बिहे गरेको १८ वर्षमा पहिलो चोटि माइती जान नपाएकामा नरमाइलो लागेको बताईन् । “मेरो माइती स्याङ्जा हो, सधैँ छोराछोरीसहित दर खाने दिनको अघिल्लो दिन माइत पुग्थेँ ,७० वर्ष पुगेकी आमा नातिनातिनाका साथ देख्दा आमा खुशी थिए । अहिले फोनबाट कुराकानी गरेर कोरोनाका कारण आउन नपाएको जानकारी गराएँ, आमाले नरमाइलो माने, बूढी भएकी आमाको काखमा तीजको दर खाएर मनाउने धोको यसपालि अधुरो भयो, आगुम के हुन्छ कुन्नि ?”

उनी अहिले घरभित्रै सोचे झैंँ रहिनछ जिन्दगी भन्दै गीत घन्काएर नाच्दै छन् । उनले कोरोना जित्ने सके अर्को वर्ष माइतीको आँगनमा पुग्ने रहर पूरा हुने विश्वास व्यक्त गरे । लोकगायिका हरिदेवी कोइराला यस वर्षको तीज पर्व दिदीबहिनी जमघटविहीन भएको बताउँछन् । उनी भन्छिन्, “अघिका वर्षहरुमा महिना दिनअघिदेखि नै तीज विशेष कार्यक्रमका निम्ता हुन्थे, एकै दिन चारपाँच वटा कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण सुनसान भयो ।

घरभित्रै आफन्त, इष्टमित्रबाट पनि भौतिक दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो ।” उनले यस वर्ष ज्यान जोगाउन सके आउने वर्षहरुमा फेरि तीजेभाकामा छमछम नाच्न पाइने भएकाले सुरक्षित रहन सबैलाई आग्रह गरे । तीजका दरमा खीर, चाम्रे, तामा, आलु, घिरौँला, काँक्राको अचार, दहीलगायत परिकार समावेश हुने गरिए पनि पछिल्लो समय भने व्यक्तिको रुचि र स्वादअनुसार विभिन्न खालका परिकार तीजका दरमा समावेश हुन थालेको उनको भनाइ छ ।

उनले तीजका मौलिक भाकाको अस्तित्व नै सङ्कटमा पर्ने थालेकाले यसको महत्वलाई सबै मिलेर बचाउनुपर्ने धारणा राखे । उनको ‘माइती रमाइलो’ बोलको तीजगीत सङ्ग्रह प्रकाशित छ भने पछिल्लो तीजगीत ‘जान्न म त त्यो घर’ भर्खरै आएको छ ।

सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश बनाएको बताए । दिदीबहिनीको महान् पर्व कोरानाले निरस बनाए पनि निराश भएर बस्न नहुने उनको भनाइ छ ।

“वर्ष दिनको पर्व कैयौंँ दिदीबहिनी माइतीको काखमा पीडा बिसाएर रमाउने पर्व हो, कामकाजी महिलाका लागि त यो पर्व एउटा ‘रिफ्रेसमेन्ट’को पर्व हो तर कोरोनाको जोखिमले एक अर्काबीच दूरी राखेर बस्नुपर्ने अवस्था सिर्जना भयो ।” उनले यस वर्ष कोरोनालाई जित्न सके अर्को वर्ष पक्कै तीज मनाउन पाइने भएकाले असहजतामा सहजता खोजी खुशी बटुलेर परिवारबीच नै रमाइलो गर्न आग्रह गरे । यसपालिको तीज प्रविधिको प्रयोग गरी अर्काबीचको आत्मीयता साटेर मनाउनुपर्ने उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति