जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

महेन्द्रनगर, २ भदौ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते सुनार र ४८ वर्षीय उदय रावल घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइतेहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको बताए । “जङ्गलबाट गाउँ पसेर खेतबारीमा काम गरिरहेकादेखि सडकमा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको छ”, उनले भने, “यसअघि पनि सोही बँदेल गाउँमा आएर आक्रमण गरेको भन्ने पनि बुझियो ।”

घटनापछि थप क्षति हुन नदिन प्रहरीको टोलीले गोली हानेर बँदेल मारेको छ । “घटनापछि २/४ सयको सङ्ख्यामा स्थानीयवासी जम्मा भए”, उनले भने, “बँदेलले थप मानवीय क्षति गर्नसक्ने आँकलन गरिएपछि मारिएको हो ।” स्थानीय प्रशासनसितको समन्वयमा थप क्षति हुन नदिन बदेल मारिएको प्रहरीले जनाएको छ । बँदेललाई प्रहरीले शुक्लाफाँटा निकुञ्ज प्रशासनको जिम्मा लगाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति