‘सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन’

काठमाडौँ, २७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुलाई कडा जवाफ दिएका छन् । मति बिग्रिएकाहरुले पार्टीभित्र र बाहिरबाट सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा राम्रो काम गरे पनि आलोचना गरेको भन्दै उनले जथाभावी आलोचना नगर्न आग्रह गरे ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको बताए । “हामीले अहिलेसम्म जे जे उपाय अपनाएर नियन्त्रण र रोकथाम गर्न सकिन्छ । त्यो सबै गरेका छौँ । अहिलेसम्म हामीले गरेको उपाय भएको छैन भने सुझाव गर्नुहोस”, उनले भने, “हामीलाई त्यो सुझाव राम्रो लाग्यो भने रोकथाममा सहयोग पु¥याउने छ । तर अनावश्यक आलोचना नगर्नुहोस् ।”

महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै उनले सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत नेताहरुलाई उनको आग्रह थियो । ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । म्यान्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिँदैन,’ मन्त्री ढकालले भने ।

मन्त्री ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिए ।

उनले बन्दाबन्दी लकडाउन खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को सङ्क्रमण बढेको बताए । उनले सरकारले प्रभावकारी कदम चालेको कारणले अन्य देशभन्दा नेपालमा सङ्क्रमितको सङ्ख्या तथा मृत्युदर पनि कम रहेको उल्लेख गरे ।

“मन्त्रालयले प्रक्षेपण गरेअनुसार यही साउन २५ गतेसम्म खराब अवस्थामा ९१ र अगामी भदौ २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार पुग्ने अनुमान गरिएको थियो”, उनले भने, “तर सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा खेलेको भूमिका र स्वास्थ्यकर्मीको प्रयासका बाबजुद हामीले त्यो अनुुमान गरेको सङ्ख्याभन्दा कम नै सङ्क्रमित रहेका छन् ।”

मन्त्री ढकालले पहिले देखिएका स्थानमा पुनः सङ्क्रमित देखिन थालेको जनाउँदै लक्षण नदेखिएका सङ्क्रमितलाई चिकित्सकको निगरानीमा घरमै रहेको आइसोलेसनमा राखिने जानकारी दिए । “अरू देशमा सङ्क्रमित भएको ठाउँमा फेरि भयाभह रुपमा सङ्क्रमित देखिएका छैनन् तर यहाँ भने पहिले सङ्क्रमित देखिएका ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन्”, उनल भने, “वीरगञ्ज, बाँके, उदयपुर, कैलालीजस्ता ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन् । त्यसैले अझ सतर्कता अपनाउन आवश्यक रहेको छ ।”

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको सेवालाई अझ प्रभावकारीरुपमा लैजानुपर्ने सुझाव दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतले अस्पतालले सेवालाई अझ छिटोछरितो बनाउनुपर्ने बताए ।

अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले अस्पतालको सेवा अझ विस्तार गर्न लागेको जानकारी दिए । उनले संविधानले नै स्वास्थ्य सेवालाई निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको हुनाले गरिब, असहाय, विपन्नलाई आर्थिक अभावका कारण हुनै पनि बिरामी उपचार गर्नबाट वञ्चित हुन दिनेछैन भने ।

विसं २०१६ मा स्थापना भएको ४० श्ययाबाट अस्पतालमा अहिले ४१५ श्यया रहेका छन् । अस्पतालमा अहिले प्रसूति रोगसम्बन्धी सबै उपचार, आमा सुरक्षा, नवजात शिशु उपचार कार्यक्रम, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, निःसन्तान तथा बाँझोपन, क्यान्सर तथा युरो गाइनोकोलोजीका सेवा प्रदान गर्दै आइरहेको छ ।

गत आर्थिक वर्ष ०७६÷७७ मा ११ लाख १९ हजार ६२५ जनाको बहिरङ्ग सेवा, २२ हजार ४६१ गर्भवतीलाई सुत्केरी र १० हजार ९७७ जना शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

पिसिआर मेसिन जडान
सोही अवसरमा काठमाडौं महानगरपालिकाले अस्पताललाई उपलब्ध गराएको पिसिआर मेसिन जडान गरिएको छ । महानगरपालिकाका प्रमुख डा शाक्यले उक्त पिसिआर मेसिनको आजै उद्घाटन गरे ।

अस्पतालका निर्देशक डा मिश्राले भर्ना भएका र गर्भवतीलाई कोभिड–१० परीक्षण गर्न सजिलो हुने बताए । महानगरपालिकाले मेसिन र अस्पतालले कोभिड–१९ परीक्षण गर्नका लागि किटको व्यस्थापन गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति