लगानी बोर्डको सीईओ नियुक्तीमा आफ्नो नाम जोडिएको भन्दै बामदेवको स्पष्टीकरण

काठमाडौं, २३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पछिल्लो समय आफू लक्षित आरोपहरुका बारेमा खण्डन गरेका छन् । यहि साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र छलफल नै नगरी आफूखुसी भट्टलाई सीईओ नियुक्त गरेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।

यसैक्रममा भट्टलाई नियुक्ती गर्न आफूले सिफारिस गरेको भन्ने समाचारहरु प्रति खण्डन गर्दै गौतमले शुक्रवार एक वक्तव्य जारी गरेका छन् ।

उनले भनेका छन्, “लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ । तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन ।

यस्तो छ स्पष्टीकरण

१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ । तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।

२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समुह वनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समुहगत रुपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न वोलाऊदा म जाने गरेकोछु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।

३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाहरुले वोलाउदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि वहांलाई गंभीर आलोचना गर्ने गरेको छु। क . प्रचन्डलाई पनि वहाकै अगाडि वहाको आलोचना गर्ने गरेको छु। पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेला लाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुट संग संवन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।

वामदेव गौतम उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति