खुशिको खबर: नेपालमै प्लाज्मा थेरापीबाट पहिलोपटक कोरोना संक्रमितको उपचार

काठमाडौं, १९ साउन । कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट नेपालमा पहिलो पटक कोरोना संक्रमितको सफल उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट पेसाले चिकित्सक रहेका ६० वर्षीय ज्ञानेन्द्रमानसिंह कार्कीलाई गत बिहीबार राति प्लाज्मा दिएर उपचार गरिएको हो ।

प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स-रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दासले जानकारी दिए ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।

उपचारमा संलग्न चिकित्सकहरूले प्लाज्मा थेरापीबाट यति छिटो र बढी सुधारको आशासमेत गरेका थिएनन् । प्लाज्मा थेरापी नगरिएको भए भेन्टिलेटर आवश्यक पर्न सक्ने अवस्थामा बिरामी थिए । डा दासले एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकालेर पुन पीसीआर परीक्षण गर्ने र नतिजानेगेटिभ आए घर पठाइने बताए ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्घतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए ।

धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल, मेडिसिटी, ह्याम्स अस्पताल प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् । कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालमा समेत जुनसुकै बेला प्लाज्मा थेरापी सुरु गर्न सकिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति