‘पुष्पलालको सपनालाई हामीले पूरा गरेका छौं–प्रम ओली

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको सपना साकार पार्ने बाटामा सरकारले महत्वपूर्ण काम गरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उनले अहिलेको नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको बताएका छन् ।

उनले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकामा जोड दिएका छन् । ‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ । पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उनले भने, ‘‘ पुष्पलालको जुन साङ्गठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौंँ ।’’

प्रधानमन्त्री ओलीले पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र सङ्गठनको स्थापना भएको उल्लेख गरेका छन् ।

‘‘विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नुपर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनुभयो’’, श्रद्धाञ्जलि वक्तव्यमा भनिएको छ, ‘‘ पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनुभयो ।’’

उनले भनेका छन्, ‘‘वाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होऊन् ।

यो नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो ।’’ प्रधानमन्त्री ओलीले आजको पुस्तालाई आफ्नो जीवनमा समृद्धिसहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्न आह्वान पनि गरेका छन् ।

यो पनि पढ्नुहोस्
गणतन्त्रको कार्यान्वयनमा देखिएका त्रुटि कमजोरीका निम्ति अहिलेको पुस्ता नै जिम्मेवार

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति