भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

नयाँ दिल्ली, ६ साउन । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ ।

यहाँ मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

उक्त विभागले दिएको जानकारीमा यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर बाढी निरन्तर रहेकोले यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन ।

ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ ।

राज्यमा सयौँको संख्यामा शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ । ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् ।

यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति