बाढीको वितण्डाः सिन्धुपाल्चोकमा २ जनाको मृत्यु, २० जना बेपत्ता

काठमाडौं, २५ असार। सिन्धुपाल्चोकमा अत्यधिक आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका – ५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको हो । निकेशकी पत्नी सविना बस्नेत गम्घिर घाईते छन्, उनीहरुलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बाढीका कारण २० भन्दा बढी घर बगाएको छ । ठाउँठाउँमा राजमार्ग कटानका कारण अवरुद्ध भएको छ भने आधा दर्जन सवारी साधनमा बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

बाढीले बाह्रबिसे नगरपालिका-५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका -५ मा बढी क्षति पुगेको प्रहरीले जनाएको छ । बाह्रबिसे-५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।

त्यस्तै मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएका प्रहरीले जानाएको छ ।

बाह्रबीसेमा २० बेपत्ता
बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।

सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उहाँकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

सभामुख बाह्रबीसेमा
सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जानुहुने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति