अनलाइन शिक्षण बन्न थाल्यो प्रभावकारी

गाईघाट, १२ असार । उदयपुर जिल्लाको अधिकांश निजी तथा आवासीय विद्यालयहरुले शुरुआत गरेका अनलाइन शिक्षण प्रभावकारी हुन थालेको छ । असार महिना शुरु हुनासाथ जिल्लाका अधिकांश ती विद्यालयहरुले सो प्रविधिबाट घरघरमा बसेका बिद्यार्थीलाई शिक्षण प्रक्रिया शुरु गरेका थिए । विद्यार्थी अनलाइन शिक्षाप्रति निकै आकर्षित हुन थालेको सम्बन्धित विद्यालय शिक्षक शिक्षिकाहरु बताउँछन् ।

त्रियुगा नगरपालिका–११ गाईघाट प्याराडाइज स्कुलका प्राचार्य बाबुराम आचार्यका अनुसार आफूहरुले जेठ महिनादेखि नै अनलाइन विधिबाट घरघरमा बसेका विद्यार्थीहरुलाई शिक्षण कार्य शुरु गरेको र अहिले प्रत्येक कक्षाका असी प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनलाइन शिक्षामा संलग्न रहेको बताए ।

शुरुमा अनलाइन शिक्षण शुरु गर्दा पाँच प्रतिशत विद्यार्थीहरु मात्र सहभागी भएको भए पनि अहिले दैनिक अनलाइन शिक्षामा संलग्न हुने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।

पिसजोन एकेडेमीले पनि असारको शुरुदेखि नै आफ्ना विद्यालयमा आबद्ध विद्यार्थीहरुका लागि अनलाइन शिक्षा शुरु गरेपछि अहिले सत्तरी प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन शिक्षामा आबद्ध भएको विद्यालयका सहायक प्राचार्य प्रभात कर्ण जानकारी दिए ।

शुरुमा पाँच प्रतिशत विद्यार्थीमात्र अनलाइन शिक्षामा सहभागी भए पनि दश दिनभित्र यो सङ्ख्या वृद्धि भएर सत्तरी प्रतिशत पुगेको समेत उनले बताए ।

गाईघाट क्यान्भास एकेडेमी स्कुल कक्षा ९ की छात्रा अस्मिता थापा अनलाइन पढाइको विषयमा आफू सन्तुष्ट रहेको र सबै पढेका विषयहरु आफूले प्रस्ट बुझ्ने गरेको बताउँछिन् । उनले भने “अहिले विद्यालयका सरहरुले हामी कक्षा ९ का विद्यार्थीहरुलाई गणित, विज्ञान,अङ्गे्रजी लगायतका विषयहरु अनलाइनबाट पढाइ रहनुभएको छ, घरमै अनलाइनमा बसेर सबै कुरा बुझिरहेका छौँ, अनलाइन पढाइबाट सन्तुष्ट छौँ ।”

त्रियुगा नगरपालिका–४ बगाहाका जयन्ता खड्काले अनलाइन शिक्षा प्रभावकारी नै देखिएको बताए । निजी विद्यालयहरुको सङ्गठन प्याब्सन तथा एन प्याब्सन उदयपुरका अनुसार अहिले जिल्लामा एक सय दशवटा निजी तथा आवासीय विद्यालयहरु रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति