आतङ्कवादको स्वरूप समयसँगै परिवर्तन हुँदै आएको छ। प्रारम्भमा व्यक्तिगत स्तरमा देखा परेको आतङ्कवाद क्रमशः राज्य आतङ्कवादमा रूपान्तरित भयो र आज त्यो अझ विकसित हुँदै साम्राज्यवादी आतङ्कवाद को रूपमा अभिव्यक्त भइरहेको छ। विशेषगरी डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नीतिले यस प्रकारको साम्राज्यवादी आतङ्कवादलाई स्पष्ट र नाङ्गो रूपमा प्रस्तुत गरेको छ।
ट्रम्प प्रशासनले संयुक्त राष्ट्रसंघको घोषणापत्र, अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको आधारभूत मान्यतालाई बेवास्ता गर्दै विभिन्न देशमाथि सिधा आक्रमण गर्ने, सत्ता परिवर्तनको प्रयास गर्ने तथा सम्पूर्ण देश नै कब्जा गर्ने सोच सार्वजनिक रूपमा अघि सारेको छ। भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरिएको हस्तक्षेप, ग्रीनल्याण्ड कब्जा गर्ने अभिव्यक्ति, क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की, इरानमाथि आक्रमण र त्यहाँ राजतन्त्र पुनःस्थापनाको संकेत—यी सबै अमेरिकी साम्राज्यवादको आक्रामक चरित्रका उदाहरण हुन्।
यसले साम्राज्यवाद र प्रतिगमनबीचको गहिरो सम्बन्ध उजागर गर्छ। पनामाको नहर कब्जा गर्ने धम्कीसमेत अमेरिकी नीतिको अंग बनेको छ। यस्तो नीति कुनै पनि दृष्टिले शान्ति स्थापना गर्ने होइन, बरु विश्वव्यापी आतङ्क सिर्जना गर्ने साम्राज्यवादी रणनीति हो।
अमेरिका आणविक हतियार सम्पन्न देश भएकाले आफ्नो सैन्य शक्तिको आडमा विश्वभर दादागिरी गर्न सक्षम देखिन्छ। ‘अमेरिका फस्ट’ को नाराअन्तर्गत उसले आफ्नो सुरक्षाको नाममा जुनसुकै देशमाथि आक्रमण गर्न सकिने दाबी गर्दै आएको छ। ग्रीनल्याण्ड, क्यानडा वा पनामा नहर कब्जा गर्ने घोषणालाई समेत अमेरिकी सुरक्षासँग जोडेर वैध ठहर गर्न खोजिएको छ। तर यस्ता तर्कहरूले विश्व शान्ति, अन्तर्राष्ट्रिय सुव्यवस्था र राष्ट्रहरूको सार्वभौमिकतामाथि गम्भीर खतरा पैदा गरिरहेका छन्।
यद्यपि अमेरिका बाह्य रूपमा शक्तिशाली देखिए पनि आन्तरिक रूपमा भने गहिरो संकटमा फस्दै गएको छ। यसको जड पुँजीवादी उत्पादन प्रणालीमै निहित छ। पुँजीवादको मूल उद्देश्य अधिकतम नाफा हो। त्यसका लागि उत्पादन प्रक्रियालाई निरन्तर विस्तार गर्नुपर्छ, जसले उत्पादनलाई सामाजिक बनाउँछ। तर उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादनको फलमाथिको अधिकार भने व्यक्तिगत नै रहन्छ। यही सामाजिक उत्पादन र व्यक्तिगत स्वामित्वबीचको अन्तर्विरोध पुँजीवादी व्यवस्थाको आधारभूत विरोधाभास हो।
यो अन्तर्विरोध समयसँगै झन तीव्र बन्दै जान्छ र त्यसकै परिणामस्वरूप आर्थिक मन्दी, बेरोजगारी, सामाजिक असमानता र राजनीतिक अस्थिरता पैदा हुन्छ। पुँजीवाद रहँदासम्म यी संकटहरूको स्थायी समाधान सम्भव छैन। लेनिनले भनेझैँ, साम्राज्यवाद पुँजीवादको सर्वोच्च तर नाशोन्मुख अवस्था हो। ट्रम्पले अपनाइरहेका आक्रामक र आतङ्कवादी नीतिहरू वास्तवमा यही नाशोन्मुख अवस्थाको अभिव्यक्ति हुन्।
साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोध पनि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। बजार, स्रोत र प्रभाव क्षेत्रका लागि हुने प्रतिस्पर्धाले विगतमा प्रथम र द्वितीय विश्वयुद्ध जन्मायो। ती युद्धहरूले विश्व साम्राज्यवादलाई कमजोर बनाए। दोस्रो विश्वयुद्धपछि औपनिवेशिक देशहरू स्वतन्त्र भए र नयाँ पुँजीवादी शक्तिहरू उदाए, जसले बजारका लागि प्रतिस्पर्धा अझ चर्कायो।
ट्रम्प सत्तामा आएपछि ट्यारिफ युद्ध, व्यापार प्रतिबन्ध र एकपक्षीय निर्णयहरूले अमेरिकालाई अन्य पुँजीवादी तथा साम्राज्यवादी देशहरूसँग टकरावमा धकेलेको छ। ग्रीनल्याण्ड कब्जा गर्ने घोषणाले नाटोसँगको सम्बन्धसमेत तनावग्रस्त बनाउने संकेत देखिएको छ। यसले अमेरिकाको अन्तर्राष्ट्रिय प्रभाव घटाउँदै उसलाई क्रमशः एक्लो बनाइरहेको छ।
अन्तर्राष्ट्रिय स्तरमा मात्र होइन, अमेरिका भित्रै पनि ट्रम्पविरुद्ध असन्तोष बढ्दै गएको छ। ट्यारिफ नीतिका कारण घरेलु बजार प्रभावित भएको छ, लाखौँ मानिस सडकमा उत्रिएका छन् र रिपब्लिकन पार्टीभित्रैबाट समेत विरोधका स्वरहरू उठ्न थालेका छन्। न्यूयोर्क मेयर चुनावमा ट्रम्प समर्थित उम्मेदवारको पराजयले उनको घट्दो लोकप्रियता प्रष्ट देखाउँछ।
निष्कर्षतः, ट्रम्पको नेतृत्वमा अपनाइएका साम्राज्यवादी आतङ्कवादी नीतिहरूले केवल अमेरिकी साम्राज्यवादलाई मात्र होइन, समग्र विश्व साम्राज्यवादी प्रणालीलाई नै कमजोर बनाइरहेका छन्। बाह्य आक्रामकता आन्तरिक संकटको संकेत हो। यही संकटले अन्ततः पुँजीवादी–साम्राज्यवादी व्यवस्थाको अन्त्य र नयाँ समाजिक विकल्पको खोजलाई ऐतिहासिक रूपमा अपरिहार्य बनाउँदै लगिरहेको छ।
प्रतिक्रिया