Nepal Page

२७ पुस २०८२, आइतबार


गगन थापा: ‘कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, बोल्न छाड्ने कोही छैन’

काठमाडौं, पुस २७– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसलाई ‘दास र लासहरूको पार्टी’ नभई ज्यूँदो मानिसहरूको पार्टी भएको बताएका छन्। उनले पार्टीमा कसैले ‘नबोल’ भनेर भन्दैमा बोल्न छाड्ने कोही नभएको र सबै बराबर रहेको जोड दिए।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, “कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन। हामी सबै बराबर छौं।”

उनले पार्टीमा प्रश्न उठाउने संस्कृति जीवित रहेको बताउँदै भने, “यहाँ प्रश्न छन्। जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन उसले उत्तर पनि खोज्न सक्दैन। तपाईंहरूको प्रयासले कांग्रेसलाई ज्यूँदो राखेको छ।”

थापाले जनआन्दोलन (जेनजी आन्दोलन) मा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिप्रति भएको स्पष्ट पारे। “नेपालका लाखौंलाख नरनारीहरूले सडकमा आएर रिस पोखेका हुन्। कोसँग? सरकारसँग। अनि सरकारमा को थियो? हामी थियौं। संसद्मा को थियो? हामीसँग। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको हो। भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएको हो।”

उनले गणतन्त्रमा पनि ‘नेपोबेबी’ को राजदेखि जनताले रिसाएको र चित्त दुखाएको बताए। “राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपोबेबीको राजदेखि रिसाएको हो। रिसाएकै हो। चित्त दुखाएकै हो नि। हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने, बेवास्ता गर्ने वा बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने भन्ने हो। विशेष अधिवेशन त्यसको एउटा प्रयास हो।”

थापाले कांग्रेस कुनै ‘बा’हरूको पार्टी नभएको र प्रश्न गर्न सक्ने पार्टी भएको दोहोर्‍याए। उनले सभापति शेरबहादुर देउवासँग माया गरेर नै मार्ग प्रशस्त गर्न आग्रह गरेको बताए। “समय आएको छ, अब तपाईंले आराम गर्नुपर्छ, मार्ग प्रशस्त गर्नुपर्छ। यसो भन्दै गर्दा मंसिरभित्र महाधिवेशन गर्नुस् भनेर कार्यवाहक दिएको होइन? घुम्नेहरूले देउवालाई माया नगरेको हो,” उनले भने।

उनले महाधिवेशन चलिरहँदा पनि देउवासहित केही नेताहरूबीच छलफल भइरहेको र त्यहाँ दुई महामन्त्रीले ‘दु:ख दिइरहेको’ भनेर सुझाव दिइएको हुन सक्ने बताए।

यो सम्बोधनले विशेष महाधिवेशनमा जारी आन्तरिक विचारको संघर्ष र पार्टीमा नयाँ ऊर्जा तथा सुधारको आवश्यकताबारे महामन्त्री थापाको दृढ अडानलाई झल्काएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति