काठमाडौं, पुस २७, २०८२ – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीको विशेष महाधिवेशनले अभिमानी पदाधिकारीहरूलाई विधिमा आउन बाध्य बनाएको बताएका छन्। उनले महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुने स्पष्ट सन्देश दिए।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आचार्यले भने, “महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुन्छ। विशेष महाधिवेशनको यो उपस्थितिले विधानसम्मत पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ।”
उनले अब कुनै पनि पार्टी नेतृत्वले महाधिवेशनका प्रतिनिधिहरूको बहुमतलाई लत्याउने चेष्टा नगर्ने चेतावनी दिए। “अब अभिमानी पदाधिकारीले महाधिवेशनका प्रतिनिधिको बहुमतलाई लत्याउने चेष्टा गर्ने छैनन्। विशेष महाधिवेशनले विधिको स्थापना गर्नेछ। भोलिदेखि हिजो र आजको जस्तो कांग्रेस रहनेछैन। नयाँ कांग्रेस हुनेछ,” आचार्यले जोड दिए।
नेता आचार्यले पार्टी र नेतृत्व विधि तथा विधानबाट चल्नुपर्नेमा जोड दिँदै भने, “नेताको पछि नभई कार्यकर्ता उभिएको ठाउँमा पार्टी हुने पद्धति बनाउनुपर्छ। बहुमत महाधिवेशन प्रतिनिधि जहाँ छन्, त्यहीँ हुन्छ पार्टी।”
यो विशेष महाधिवेशनले कांग्रेसमा नयाँ ऊर्जा र परिवर्तनको सन्देश दिएको उनको भनाइ छ। महाधिवेशनमा पार्टी पुनर्गठन, आगामी निर्वाचन रणनीति तथा आन्तरिक लोकतन्त्र मजबुत बनाउने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भदौ २३ र २४ को घटनापछि पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ भनेर नेतृत्वलाई भन्दा सुनुवाइ नभएपछि विशेष महाधिवेशन निम्त्याएको बताएका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै मन्सुरले यस्तो बताएका हुन् । साथै उनले विशेष महाधिवेशनमा मेची महाकालीबाट प्रतिनिधि सहभागी भएकाले अव नयाँ कांग्रेस बनाउने सपना पुरा हुने बताए ।
‘भोलिको बन्द सत्रबाट कांग्रेसले नयाँ नीति लिनेछ । नयाँ कांग्रेस हुनेछ र नयाँ उत्साह थपिनेछ’,मन्सुरको भनाइ छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलीको बन्द सत्रमा उपस्थिति जनाएर कांग्रेस एक ढिक्का भएको सन्देश दिन पनि आग्रह गरे ।
प्रतिक्रिया