काठमाडौं २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा नेता डा. शेखर कोइरालाले भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशन वैधानिक वाध्यता भएको बताएका छन् ।
विशेष महाधिवेशन पक्षमा पनि नखुलेका र सभापति शेरबहादुर देउवालाई पनि औपचारिक समर्थन गर्न नसकेका उनले वक्तव्य निकालेका हुन् ।
आज देश आसन्न निर्वाचनको संघारमा छ । केही महिना अगाडि मात्र ‘जेनजी’ आन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ ।
यस प्रक्रियामा संविधानसभाबाट जारी भएको नेपालको संविधान यतिखेर क्षत(विक्षत अवस्थामा पुगेको छ ।
आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरूले ‘देशको संविधान नेपाली जनता आफैँले लेख्नेछन्’ भनी नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो ।
त्यो गौरवशाली इतिहासको शृङ्खलाले अनेकन कष्ट, यातना र बलिदान भोग्दै, निरंकुश तन्त्रहरूसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौमसत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो।
भिडियो लिंक: विशेष महाधिवेशनको उद्घाटन सत्र अघि कोइरालाले जारी गरेको भिडियो सन्देश ।
यतिखेर हामी लगायत सबै राजनीतिक दलहरू त्यही सार्वभौम संविधान—जो नेपालको मूल कानुन हो—लाई आगामी निर्वाचनमार्फत बचाउने प्रयत्न गरिरहेका छौँ ।
हामी २४ देखि २७ भदौसम्म घटेको अन्योल, अराजकता र संविधानहीनताको त्रासदीपूर्ण अवस्थालाई यति चाँडो कसरी बिर्सन सक्छौँ र ? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने जुन अवस्था आइपर्यो, त्यस्तो परिस्थितिको पुनरावृत्ति नचाहनु नै हाम्रा सहिदहरू प्रतिको सच्चा न्याय हुनेछ ।
के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रका लागि बलिदान, संघर्ष र यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौँ ।
हाम्रा आदरणीय नेताहरू, बुद्धिजीवी, कानुनविद् र पत्रकार साथीहरूलाई देशको मूल कानुनको महत्त्व र संविधानहीनताको जोखिमबारे मैले धेरै भनिरहनु नपर्ला ।
‘जेनजी’ आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरूको नेतृत्वबारे नागरिक तह र पार्टीभित्रै पनि बहस सुरु हुनु स्वाभाविक थियो ।
राजनीतिक दलहरूको विफलताले नेतृत्वमाथि प्रश्न उठ्यो र यही क्रममा नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आए ।
कांग्रेसको विधानमा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउन अनेकौँ प्रावधान राखिएका छन् । नेपालको संविधानमा झैँ यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोगमा ल्याउने कोसिस गरियो, जसको श्रेय निस्सन्देह पुरानो पुस्तालाई जान्छ ।
यही कारण आज नेपाली कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिमा युवाहरूको उत्साहजनक सहभागिता छ ।
कांग्रेसको वैधानिक विकास क्रम जननायक बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो । त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म मानिएको थियो, जहाँ कसैप्रति विद्वेष र निषेध थिएन ।
मलाई थाहा छ, कांग्रेसको विधानमा के छ र के हुनुपर्छ । विशेष महाधिवेशनको अभियान चलिरहँदा मैले आफ्ना मतहरू केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु ।
मैले यिनै मर्मलाई आत्मसात् गरेर कांग्रेसभित्र ‘पुस्तान्तरण र हस्तान्तरण’ को अभियान चलाएँ । धेरै युवा साथीहरू यसमा जोडिनुभयो । म सधैँ कांग्रेस विधि, विधान र नियमसंगत प्रक्रियाबाट चलोस् भन्ने पक्षमा संघर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र संयमित थियो ।
मेरो शैलीसँग कतिपय साथीहरू असहमत हुनुहुन्थ्यो होला, तर म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोशित र अधैर्य भएर अगाडि बढ्न चाहिनँ ।
म यहाँ प्रष्ट भन्न चाहन्छु—मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री वा महामन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन । त्यस्ता अवसरहरू आए पनि मैले रुचि देखाइनँ ।
मलाई सभापति वा प्रधानमन्त्रीको कुर्सीले पनि लोभ्याउँदैन । मेरो परिवारबाट पाएको संस्कार र शिक्षा नै मेरो जीवन दर्शन हो । यही दर्शनबाट अभिप्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहनेछु ।
यस क्रममा एकातिर मैले सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग विमति राख्नुपर्ने थियो भने अर्कोतिर ती ऊर्जावान् र जोशिला युवाहरूको असन्तोषको सामना गर्नु परिरहेको छ ।
मलाई थाहा छ, कांग्रेसको विधानमा के छ र के हुनुपर्छ । विशेष महाधिवेशनको अभियान चलिरहँदा मैले आफ्ना मतहरू केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु ।
यो गरिरहँदा कांग्रेसमा कुनै पनि प्रकारको विभाजनको प्राविधिक वा भावनात्मक सन्देश नजाओस् भन्नेमा म अत्यन्त सतर्क थिएँ ।
कांग्रेस संक्रमणमा पर्दा कसले र कसरी त्याग एवं अपमान सहनुपर्छ भन्ने मलाई बोध छ । म ती सबै सहेर पनि पार्टी विधान र कांग्रेसजनको भावनात्मक एकताका लागि अन्तिमसम्म लडिरहनेछु ।
बीपीको मेलमिलाप कुनै कानुनको पाना वा विधानको धाराबाट मात्र निस्किएको थिएन, त्यो उहाँको अन्तरात्मा र नेपाली जनताको आवाज थियो ।
म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील दा लगायतका अग्रजहरूले छोडेको पदचापबाट विचलित हुने छैन । यही पदचाप नै कांग्रेसको त्यो मौलिक आदर्श हो, जसमा टेकेर नेपालीहरू स्वतन्त्र र सार्वभौम भएका छन् ।
के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै एकताको बिगुल फुक्ने महाधिवेशन गर्न सक्दैनौँ रु हाम्रा समर्थक, शुभचिन्तक र अन्तर्राष्ट्रिय समुदायले हामीलाई एकताबद्ध भएको हेर्न चाहेका छन् ।
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ । विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ तपाईंहरू काठमाडौँ आउनुभएको छ ।
पार्टी विधानको कार्यान्वयन र समग्र कांग्रेसको हितका लागि तपाईंहरू ऐतिहासिक दायित्व निर्वाह गर्न सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ ।
म यस निकासका लागि केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु र निकास ननिस्कुन्जेल निरन्तर लागिरहने प्रण गर्दछु । मलाई दृढ विश्वास छ, हामी एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ । र, यो ‘जय नेपाल’ को साझा गुञ्जनबाट मात्र सम्भव छ ।
प्रतिक्रिया