काठमाडौं २६ पुस । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वका तानाशाही र अहंकारी शासकहरूसँग तुलना गर्दै कडा चेतावनी दिएका छन्। खामेनीले सामाजिक सञ्जाल मार्फत ट्रम्पको आलोचना गर्दै भनेका छन् ‘विश्वमा घमण्डका साथ निर्णय गर्ने अमेरिकी राष्ट्रपतिले बुझ्नुपर्छ— फिरउन, निमरुद, मोहम्मद रेजा पहलवी जस्ता तानाशाही शासकहरूको पतन तब भयो, जब उनीहरूको अहंकार चरममा पुग्यो। ट्रम्पको पनि पतन हुनेछ।
खामेनीले इरान क्रान्तिपूर्वभन्दा अहिले धेरै सुसज्जित र हतियारयुक्त भएको दाबी गरे। उनले भने, “आज इरान क्रान्तिअघिको भन्दा धेरै सुसज्जित र हतियारयुक्त छ। हाम्रो आध्यात्मिक शक्ति र परम्परागत हतियार पुरानो समयसँग तुलना गर्न सकिन्न। इरानबारे अमेरिकाको बुझाइ पहिलेजस्तै छ भने त्यो गलत छ।”
उनले लाखौं सम्मानित व्यक्तिहरूको बलिदानबाट बनेको इरान विनाशकारीहरूको सामना गर्न पछि नहट्ने चेतावनी दिए। खामेनीले १२ दिनको युद्धमा हजारभन्दा बढी इरानी नागरिक सहिद भएको उल्लेख गर्दै ट्रम्पले आफैंले त्यसको आदेश दिएको स्वीकार गरेको बताए। “उनको हातमा इरानीहरूको रगत लागेको छ, अब उनी इरान राष्ट्रको साथमा उभिएको दाबी गर्छन्,” उनले भने।
भेनेजुएला प्रकरणमा पनि खामेनीले ट्रम्पलाई निशाना बनाए। उनले लेखे, “तपाईं देख्न सक्नुहुन्छ— उनले ल्याटिन अमेरिकाको एउटा देशलाई कसरी घेरेका छन् र त्यहाँ कस्तो कदम चालेका छन्? उनी लाज नमानी भन्दै छन्— यो तेलका लागि थियो…।”
इरानमा जारी विरोध प्रदर्शन र ट्रम्पको चेतावनी
इरानमा बढ्दो महँगी, आर्थिक संकट र मुद्राको अवमूल्यनविरुद्ध दुई हप्तादेखि सरकार विरोधी प्रदर्शन चर्किएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपमा कम्तीमा ४० देखि ६२ जनाको मृत्यु भइसकेको विभिन्न स्रोतहरूले जनाएका छन्। प्रदर्शनकारीहरूले सर्वोच्च नेता खामेनीलाई पद छाड्न माग गरेका छन् र पूर्वशाह मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवीको समर्थनमा नारा लगाएका छन्।
ट्रम्पले प्रदर्शनकारीमाथि गोली चलाए अमेरिका आक्रमण गर्ने दोस्रो पटक चेतावनी दिएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “तिमीहरूले प्रदर्शनकारीमाथि गोली चलायौ भने हामी पनि तिमीहरूमाथि चलाउँछौं।” उनले इरान अहिले “अत्यन्त खराब अवस्थामा” पुगेको बताए। ट्रम्पले यसअघि पनि प्रदर्शनकारीहरूलाई बचाउन अमेरिका आउन सक्ने बताएका थिए।
इरान सरकारले प्रदर्शन नियन्त्रण गर्न देशभर इन्टरनेट सेवा बन्द गरेको छ। शुक्रबारसम्म ३१ प्रान्तका १०० भन्दा बढी सहरमा लाखौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। सरकारी सञ्चारमाध्यमहरूले प्रदर्शनको संख्या कम देखाएर परिस्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन्, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई भ्रामक भनेका छन्।
केही महिनाअघि अमेरिका र इसरायलले इरानका परमाणु स्थलहरूमा आक्रमण गरेपछि अर्थव्यवस्था धराशायी बनेको छ। मुद्रास्फीति ४० प्रतिशत नाघेको, रियालको मूल्य आधा घटेको र युद्धपछिको संकटले जनआक्रोश बढाएको विश्लेषकहरू बताउँछन्।
खामेनीको ‘प्लान बी’ को रिपोर्ट
बेलायती अखबार द टाइम्सले गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै खामेनीले प्रदर्शन चर्किएमा देश छाडेर भाग्ने ‘प्लान बी’ तयार पारेको जनाएको छ। ८६ वर्षीय खामेनी तेहरान छाडेर २० जना निकट सहयोगी र परिवारसहित (उनका छोरा मोज्तबा खामेनीसमेत) सुरक्षित स्थान (सम्भवतः मस्को) तर्फ पलायन गर्ने योजना रहेको बताइएको छ। यो योजना सिरियाका पूर्वराष्ट्रपति बशर अल-असदको २०२४ मा रुस भागेको घटनासँग मिल्दोजुल्दो छ।
फ्रान्स, बेलायत र जर्मनीले प्रदर्शनकारीको हत्याको निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण प्रदर्शनको अधिकार सम्मान गर्न आग्रह गरेको छ।
यो घटनाक्रमले इरानको आन्तरिक द्वन्द्वलाई नयाँ उचाइ दिएको छ, जसमा ट्रम्पको कडा धम्की र खामेनीको प्रतिरोधले क्षेत्रीय तनाव बढाएको छ। इरानले विगतका आन्दोलनहरू (१९९९, २००९, २०१९, २०२२) दबाएको इतिहास छ, तर अहिलेको प्रदर्शन आर्थिक संकट र युद्धपछिको अस्थिरताका कारण सबैभन्दा ठूलो चुनौती बनेको छ।
प्रतिक्रिया