काठमाडौं, २६ पुस । नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ। नियमित रूपमै १५औँमहाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धारले कांग्रेसलाई फुटको संघारमा पुर्याएको छ। आज दिनभरमा विशेष महाधिवेशन पक्षधर र कांग्रेस संस्थापनबीचको मिलनले नाटकीय मोड नलिए आइतबार विशेष महाधिवेशन सुरु हुनेछ। यसले कांग्रेस २ टुक्रा हुने निश्चितप्राय छ। लामो विवादकै बीच विशेष महाधिवेशनले नेपाली कांग्रेसको संरचनामात्र होइन, भविष्य नै फेर्न सक्छ। विशेष महाधिवेशनले नेतृत्व नै नयाँ चुन्ने प्रक्रियामा जान्छ वा जाँदैन, अहिलेसम्म तय छैन। तर इतिहासमै कांग्रेसले पहिलोपटक यसप्रकारको विशेष महाधिवेशनको अनुभव गर्नेछ। तर यो अनुभव उसका लागि महँगो पनि पर्न सक्छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो।कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावमा पुस १८ गतेको केन्द्रीय कार्यसमिति बैठकले २०८३ वैशाखमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पक्षधरले विशेष महाधिवेशनको तयारी तीव्र पारेपछि नेताकार्यकर्ता विभाजित भएका हुन्। सातमध्ये पाँच प्रदेशका सभापति नियमित महाधिवेशनका पक्षमा खुल्दा ७७ जिल्लामा चाहिँ नियमित र विशेष महाधिवेशनको पक्षमा मिश्रित पक्षधरता देखिएको छ।महामन्त्रीद्वय थापा र शर्माकै अगुवाइमा विशेष महाधिवेशनको तयारी भइरहँदा शुक्रबार सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यको बैठकले विशेष महाधिवेशनभन्दा निर्वाचनलाई ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि कांग्रेस केन्द्रीय सदस्य एवं पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नु पार्टीको हितमा हुने बताउनुभयो । उहाँले अहिले पार्टीभित्रै परस्परमा प्रतिस्पर्धा गर्नु गलत हुने बताउँदै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। कांग्रेसका दुई हजार ४८८ जना अर्थात् ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको पुस २९ गते ९० दिन पुग्दै छ। सोही अनुसार विशेष महाधिवेशनको तयारी भइरहेको छ। सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेर पार्टी एकताबद्ध बनाउन संवाद गरिरहेका छन्। आन्तरिक परामर्श चलिरहँदा महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रतिनिधि थपिने दाबी गरे। मन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई बलियो बनाउने, सैद्धान्तिक रूपमा प्रस्ट बनाउने र फागुन २१ गतेको निर्वाचनमा एकल उम्मेदवार लिएर जाने प्रस्ट पारे। यता नेपाली कांग्रेसका १७ वटा भ्रातृ संस्थाले वैशाखमा कांग्रेसको १५ औँ महाधिवेशनमार्फत नीति र नेतृत्व छान्न अपिल गरेका छन्। १७ मध्ये अधिकांश भ्रातृ संस्थाका अध्यक्ष र केही भ्रातृ संस्थाका पदाधिकारीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा देशका राजनीतिक सङ्कट र कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिकबाट निम्त्याइएको र एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गरिएको छ।
कांग्रेस विशेष महाधिवेशन: विभाजन कि, नेतृत्व परिर्वतन
प्रतिक्रिया