रूसद्वारा युक्रेनमाथि विशाल हाइपरसोनिक ‘ओरेश्निक’ मिसाइल प्रहार

काठमाडौं २७ पुस । (एजेन्सीको सहयोगमा): रूसको सेनाले रातभर गरिएको विशाल आक्रमणका क्रममा युक्रेनको एक लक्ष्यमा आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेश्निक’ मिसाइल प्रहार गरेको छ।
युक्रेनले उक्त आक्रमण भएको पुष्टि गर्दै यो आक्रमण देशको पश्चिमी भागमा, ईयूको सीमासँग नजिक भएको जनाएको छ। मस्कोले भने यो मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गत महिना भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गर्न खोजेको कथित घटनाको प्रतिशोध भएको दाबी गरेको छ। तर कीभ र वासिङ्टन दुवैले उक्त आरोपलाई असत्य भनेका छन्।
युक्रेनका विदेशमन्त्रीले ईयू र नाटोको सीमासँग यति नजिक ‘ओरेश्निक’ मिसाइल प्रयोग गर्नु युरोपेली सुरक्षाका लागि “गम्भीर खतरा” भएको बताएका छन् र मस्कोमाथि दबाब बढाउन साझेदार राष्ट्रहरूलाई आह्वान गरेका छन्। कीभले रूसले आक्रमणलाई औचित्य ठहर्याउने प्रयासलाई “हास्यास्पद” भन्दै खारेज गरेको छ।
युक्रेनको सुरक्षा सेवाले युक्रेनको पश्चिमी लभिभ क्षेत्रमा फेला पारिएको ‘ओरेश्निक’ मिसाइलका भग्नावशेष भएको दाबी गर्दै तस्बिरहरू सार्वजनिक गरेको छ।

लभिभ क्षेत्रका गभर्नरले रूसी आक्रमणबाट एउटा महत्वपूर्ण पूर्वाधार क्षतिग्रस्त भएको बताएका छन्। सामाजिक सञ्जालमा आएका अपुष्ट विवरणहरूअनुसार उक्त स्थान ठूलो भूमिगत ग्यास भण्डारण केन्द्र हुन सक्ने अनुमान गरिएको छ।
रूस समर्थक सैन्य ब्लगरहरूले ‘ओरेश्निक’ प्रहार कैद गरिएको दाबी गर्दै भिडियोहरू प्रसारित गरेका छन्। हिउँले ढाकिएको क्षेत्रमाथि खिचिएको उक्त भिडियोमा जमिनमा एकपछि अर्को गर्दै चम्किला प्रकाश देखिन्छन्, त्यसपछि ठूलो विस्फोट र क्रमिक सहायक विस्फोटहरू देखिन्छन्।


रूसले पहिलो पटक ‘ओरेश्निक’ मिसाइल नोभेम्बर २०२४ मा प्रयोग गरेको थियो। परमाणु वारहेड बोक्न सक्ने क्षमता भएको यो मिसाइलको नाम रूसी भाषामा ‘हेजल रूख’ भन्ने अर्थ लाग्ने शब्दबाट राखिएको हो। त्यसबेला मस्कोले युक्रेनको सैन्य–औद्योगिक प्रतिष्ठानमा आक्रमण गरेको दाबी गरेको थियो। तर युक्रेनी अधिकारीहरू र विश्लेषकहरूले मिसाइलमा विस्फोटक नभई ‘डमी’ वारहेड रहेको र क्षति सीमित भएको बताएका थिए।
प्रारम्भिक विवरणहरूअनुसार शुक्रबार प्रयोग गरिएको ‘ओरेश्निक’ मिसाइलमा पनि निष्क्रिय (इनर्ट) वारहेड नै थियो । यसले यो प्रहार मुख्यतः प्रतीकात्मक रहेको संकेत गर्छ। यो आक्रमण युक्रेनका युरोपेली सहयोगीहरूले रूससँग युद्धविराम भएपछिको सुरक्षा ग्यारेन्टीका मुख्य तत्त्वहरू प्रदान गर्न सहमत भएको केही दिनपछि भएको हो।

पुटिनले पछिल्ला महिनाहरूमा युक्रेन र पश्चिमविरुद्ध चेतावनीका रूपमा ‘ओरेश्निक’ मिसाइलको बारम्बार उल्लेख गर्दै आएका छन्। उनले युक्रेनलाई रूसभित्र लामो दूरीका हतियार प्रयोग गर्न सहयोग गर्ने देशहरूमाथि समेत यो मिसाइल प्रयोग हुन सक्ने चेतावनी दिएका छन्।
ईयूकी विदेश नीति प्रमुख काजा काल्लासले रूसद्वारा ‘ओरेश्निक’ मिसाइल प्रयोग गरिएको खबर युक्रेनविरुद्ध स्पष्ट उक्साहट (एस्केलेसन) भएकोले युरोप तथा अमेरिकालाई लक्षित चेतावनी भएको बताएकी छन्।
उनले भनिन्, “ईयूका देशहरूले आफ्नो हवाई रक्षा प्रणालीको भण्डार अझ गहिरो रूपमा प्रयोग गर्दै तत्काल आपूर्ति गर्नुपर्छ। कडा प्रतिबन्धसहित, मस्कोका लागि यस युद्धको मूल्य अझ बढाउनुपर्छ।”
रूसी नेताले सो मध्यम दूरीको मिसाइल अत्यधिक गतिका कारण रोक्न असम्भव भएको दाबी गर्दै आएका छन्। उनका अनुसार यसको गति ध्वनिको गतिभन्दा १० गुणा बढी छ र परम्परागत वारहेड प्रयोग गर्दा पनि यसको विनाशकारी शक्ति परमाणु हतियारसरह हुन्छ।
यद्यपि केही पश्चिमी विश्लेषकहरूले यी दाबीहरूप्रति शङ्का व्यक्त गरेका छन्। तर युक्रेनसँग उक्त मिसाइल रोक्न सक्ने कुनै पनि हवाई रक्षा प्रणाली उपलब्ध छैन।

रूसी सेनाले रातभर कीभमाथि पनि आक्रमण गर्दा राजधानीका थुप्रै क्षेत्र प्रभावित भए। कीभ सहर सैन्य प्रशासन प्रमुख तिमुर त्काचेनकोका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको छ। युक्रेनको सुरक्षा सेवाका अनुसार उद्धार कार्यमा खटिएका पाँच जना उद्धारकर्मी घाइते भएका छन्।
कीभका मेयर भिताली क्लिच्कोले रूसी आक्रमणपछि राजधानीका आधा अपार्टमेन्ट भवनहरूमा हिटर आपूर्ति बन्द भएको बताउँदै सहरबाहिर बस्न सक्ने स्थान भएकाहरूलाई त्यहाँ जान आग्रह गरे। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कतार दूतावासको भवनसमेत आक्रमणमा क्षतिग्रस्त भएको बताएका छन्।

मंगलबार बेलायत र फ्रान्सले भविष्यमा शान्ति सम्झौता भएपछिको अवस्थामा युक्रेनमा सेना परिचालन गर्न तयार रहेको बताएका थिए । यो महिनौंदेखि छलफलमा रहेको एउटा महत्वपूर्ण प्रतिबद्धता हो।


तर बिहीबार रूसको विदेश मन्त्रालयले उक्त प्रस्ताव अस्वीकार गर्दै युक्रेनमा पश्चिमी सेना तैनाथ हुनु “प्रत्यक्ष खतरा” हुने बतायो। यसले वार्तामार्फत शान्ति सम्भावनामाथि पुनः गम्भीर शङ्का उत्पन्न गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति