नयाँ साम्राज्यवादी युग


ट्रम्प, भेनेजुएला, र अमेरिकी शक्तिको शताब्दी पुरानो दृष्टिकोण

सन् २०१४ मा रुसले क्रिमियामाथि आक्रमण गरेपछि तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीले भ्लादिमिर पुटिनले ‘उन्नाइसौं शताब्दीको शैलीमा’ व्यवहार गरिरहेको भन्दै खेद प्रकट गरेका थिए। केरीले सायद सोचेका थिएनन् होला कि उनको त्यो टिप्पणी आजको अमेरिकी विदेश नीतिलाई कति सटिक रूपमा चित्रण गर्नेछ। विश्लेषकहरूले गत हप्ता भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपका धेरै ऐतिहासिक समानताहरू खोजेका छन्—बीसौं शताब्दी यस्ता विकल्पहरूले भरिएको छ। तर आजको समयसँग सबैभन्दा बढी मेल खाने कालखण्ड भनेको ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको शृङ्खला सुरु भएको युग हो। त्यो कथा सन् १८९८ बाट सुरु हुन्छ।

सन् १८९८ को युद्ध (जसलाई स्पेनिश–अमेरिकी युद्ध पनि भनिन्छ) मा स्पेनलाई पराजित गरेपछि अमेरिकाले गुआम, फिलिपिन्स र पोर्टो रिकोमा रहेका पूर्व स्पेनी उपनिवेशहरू कब्जा गर्‍यो र क्युबामाथि आफ्नो संरक्षण कायम गर्‍यो। यसबाहेक, उसले हवाईलाई आफ्नो देशमा गाभ्यो र निकारागुआ (पछि पानामा) हुँदै नहर बनाउने बाटो खोज्न थाल्यो। १८९८ पछिको आधा शताब्दीसम्म अमेरिकी साम्राज्यमा कहिल्यै घाम अस्ताएन।

अमेरिकालाई विस्तारवाद, शोषण र उपनिवेशवादको पहिलेदेखि नै प्रशस्त अनुभव थियो। तापनि, १८९८ एक निर्णायक मोड बन्यो। केही महिनाभित्रै अमेरिकाले एउटा युरोपेली साम्राज्यलाई पतन गरायो, क्यालिफोर्नियाको तटबाट ७,००० माइल टाढा रहेका ७,००० भन्दा बढी टापुहरू कब्जा गर्‍यो र तुरुन्तै प्रशान्त क्षेत्रको ठूलो शक्ति बन्यो। त्यसपछि अमेरिकी सेनाको संख्या कहिल्यै १ लाखभन्दा कम भएन। वुड्रो विल्सनले राष्ट्रपति बन्नुभन्दा एक दशकअघि भनेका थिए, ‘कुनै पनि युद्धले हामीलाई स्पेनसँगको युद्धले जस्तै परिवर्तन गरेको छैन!!! हामीले एउटा नयाँ क्रान्ति देखेका छौं।’

१८९८ को त्यो युग फेरि फर्किएको छ। सतही समानताहरू धेरै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क र संरक्षणवादप्रतिको उत्साह, पानामा नहर फिर्ता लिने चासो, क्यानाडासँगको तनाव, ल्याटिन अमेरिकामा ध्यान र डेनिस क्षेत्र (ग्रीनल्याण्ड) प्राप्त गर्ने उनको खोजी—यी सबै शताब्दीको मोडतिर फर्किन्छन्। ट्रम्पका आदर्शहरू मध्ये एक १८९७ देखि १९०१ सम्म राष्ट्रपति रहेका विलियम म्याककिन्ले हुनु कुनै अचम्मको कुरा होइन। म्याककिन्लेका उत्तराधिकारी थिओडोर रुजवेल्टले पनि ट्रम्पको प्रशंसा पाएका हुन सक्छन्ः उनी नोबेल शान्ति पुरस्कार जित्ने पहिलो अमेरिकी राष्ट्रपति थिए। म्याककिन्ले र रुजवेल्टले मिलेर अमेरिकालाई ‘अमेरिकी शताब्दी’ मा प्रवेश गराएका थिए, जुन विश्वव्यापी प्रभुत्वको कालखण्ड थियो।

जब देशहरू बलियो हुन्छन्, उनीहरू अक्सर बढी असुरक्षित महसुस गर्छन्।

तर, ऐतिहासिक समानताहरू केवल नीति वा कार्यहरूको सेटमा मात्र सीमित छैनन्। ट्रम्प प्रशासनले पुरानो कार्ययोजना मात्र प्रयोग गरिरहेको छैनः उसले शक्ति र सुरक्षालाई बुझ्ने पुराना तरिकाहरूलाई पुनर्जीवित गर्दैछ। यसले धन, भूगोल र ‘सभ्यता’—जुन समाजको प्रगतिको शताब्दी पुरानो मापन हो—मा जोड दिने विश्वदृष्टिकोणलाई ब्युँताएको छ। ट्रम्प र उनका सल्लाहकारहरूले १८९८ बाट सबैभन्दा ठूलो पाठ सिक्नुपर्छः अमेरिकाले विदेशमा जति धेरै हस्तक्षेप गर्छ, त्यहाँ देखिने हरेक नयाँ समस्या उत्ति नै महत्त्वपूर्ण लाग्नेछन् र वासिङ्टनका लागि त्यहाँबाट उम्किन त्यति नै गाह्रो हुनेछ।

पुरानो विश्व शक्ति

म्याककिन्लेका लागि स्वस्थ अर्थतन्त्र शक्ति र सुरक्षाको केन्द्रमा थियो। उनी अमेरिकीहरूलाई अनिश्चितता र आर्थिक संघर्षबाट जोगाउन चाहन्थे। उनको शक्तिको अवधारणा आन्तरिक समृद्धि, आत्मनिर्भरता र औद्योगिकीकरणमा आधारित थियो। उनले १८९९ मा मिनियापोलिसमा भनेका थिए, \हाम्रो क्षेत्रको वृद्धिले हाम्रो शक्ति र समृद्धिमा ठूलो टेवा पुर्‍याएको छ।’

रुजवेल्टले यस सोचलाई एक कदम अगाडि बढाए। उनको विचारमा शक्ति भनेको जमिनको स्वामित्व मात्र होइन, भूगोलको रणनीतिक प्रयोग पनि थियो। क्युबा र पोर्टो रिकोमाथिको कब्जाले रुजवेल्टलाई ल्याटिन अमेरिकालाई अमेरिकाको प्रभाव क्षेत्रको रूपमा व्यवहार गर्न सक्षम बनायो। यसले रुजवेल्टको प्रसिद्ध ‘मनरो डक्ट्रिन’ को पूरक सिद्धान्तलाई जन्म दियो। जहाँ मनरो डक्ट्रिनले पश्चिमी गोलार्धमा युरोपेली शक्तिलाई रोक्ने लक्ष्य राखेको थियो, रुजवेल्टको परिमार्जित सिद्धान्तले भने पश्चिमी गोलार्धका देशहरूमा आन्तरिक अस्थिरता भएमा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छ भन्ने दाबी गर्‍यो। यसले अमेरिकालाई नै हस्तक्षेपकारी बनायो।

म्याककिन्ले र रुजवेल्ट दुवैका लागि ‘सभ्यता’ को अवधारणा सबैभन्दा महत्त्वपूर्ण थियो। १८९० को दशकका सम्भ्रान्तहरूले सभ्यतालाई प्रगति र समाजको उपलब्धिका रूपमा बुझ्थे, जहाँ मानिसहरूलाई ‘जङ्गली’ देखि ‘सभ्य’ सम्मको श्रेणीमा राखिन्थ्यो। कानुनको शासन, व्यवस्था, स्व–शासन, आधुनिकता, साक्षरता र इसाई धर्मलाई सभ्यताका मापदण्ड मानिन्थ्यो। यी मापदण्डहरू तत्कालीन जातीय र सांस्कृतिक पूर्वाग्रहबाट प्रभावित थिए।

नयाँ विश्व शक्ति

आजका अमेरिकी नेताहरूले पनि म्याककिन्ले र रुजवेल्टले जस्तै शक्ति र सुरक्षाको कल्पना गर्छन्। ट्रम्पको राष्ट्रिय सुरक्षा नीतिमा अर्थतन्त्रले प्रमुख भूमिका खेलेको छ। उनको प्रशासनको ‘पुनः औद्योगिकीकरण’, संरक्षणवाद र आत्मनिर्भरताको जोडले १९ औं शताब्दीको अन्त्यतिरको अमेरिकी उत्पादनको स्वर्ण युगलाई पुनः प्राप्त गर्ने लक्ष्य राखेको छ। भेनेजुएलाको सन्दर्भमा पनि प्रशासनले त्यहाँको प्राकृतिक स्रोतहरू, विशेष गरी तेल र खनिज भण्डारलाई लक्षित गर्नेछ।

“ट्रम्प प्रशासनले धन, भूगोल र सभ्यतालाई जोड दिने एउटा यस्तो विश्वदृष्टिकोणलाई पुनर्जीवित गरेको छ, जसले शताब्दीयौं पुरानो सामाजिक प्रगतिको मापदण्डलाई प्रतिनिधित्व गर्दछ।”

जमिन अर्थात् क्षेत्र पनि ट्रम्प प्रशासनका लागि महत्त्वपूर्ण छ। ट्रम्पले पानामा, क्यानाडा, गाजा र ग्रीनल्याण्डको क्षेत्र प्राप्त गर्ने कुरामा चासो देखाएका छन्। गत हप्ता मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले भेनेजुएलालाई शासन गर्ने वाचा गरे। उनले भने, ‘उचित संक्रमण नभएसम्म हामी यसलाई चलाउनेछौं।’ यो एक प्रकारको संरक्षित राज्य बनाउने वाचा जस्तै देखिन्छ।

तर ट्रम्पको भेनेजुएला नीतिमा ‘सभ्यता’ को धारणाले सबैभन्दा ठूलो भूमिका खेलेको छ। मादुरोको गिरफ्तारीले रुजवेल्टको त्यो सिद्धान्तलाई पछ्याउँछ जसमा ‘सभ्यता विरुद्धका अपराधहरू’ लाई सजाय दिने कुरा उल्लेख थियो। ट्रम्पले के विश्वास गर्छन् भने भेनेजुएलाका जनताले अहिले आफैं शासन गर्न सक्दैनन्। उनले जनवरी ३ मा भनेका थिए, ‘हामी सुनिश्चित गर्नेछौं कि त्यो देश राम्रोसँग चलोस्।’ यो म्याककिन्लेले फिलिपिनीहरूका बारेमा राखेको धारणासँग मिल्दोजुल्दो छ— उनल भनेका थिएःकेवल अमेरिकाले मात्र उनीहरूलाई देश कसरी चलाउने भनेर सिकाउन सक्छ।

जति हस्तक्षेप, उति समस्या

ट्रम्पको २०२५ को उद्घाटन(सपथ) भाषणको एक वाक्य उल्लेखनीय छः ‘अमेरिकाले पुनः आफूलाई बढ्दो राष्ट्रको रूपमा लिनेछ—जसले हाम्रो धन बढाउँछ, हाम्रो क्षेत्र विस्तार गर्छ, हाम्रा सहरहरू बनाउँछ !!! र हाम्रो झण्डालाई नयाँ र सुन्दर क्षितिजमा लैजान्छ।’ यो वाक्य १९ औं शताब्दीको अन्त्यतिरको शक्ति र सुरक्षाको अवधारणासँग ठ्याक्कै मेल खान्छ।

यद्यपि, म्याककिन्लेको युगले एउटा चेतावनीमूलक पाठ पनि सिकाउँछ, जसलाई मैले ‘हस्तक्षेपकारीको पासो’ भनेको छु। १८९८ को शरद ऋतुमा म्याककिन्लेले फिलिपिन्सका स्पेनी औपनिवेशिक शासकहरूलाई पराजित गरेका थिए। उनले स्थानीयहरूलाई विश्वास गरेनन् र अमेरिकाले उनीहरूको देश राम्रोसँग चलाउन सक्छ भन्ने ठाने। यसले अमेरिकालाई लामो समयसम्म त्यहाँ अल्झायो र फिलिपिन्स १९४६ सम्म स्वतन्त्र हुन सकेन।

ट्रम्पले अब अगाडि के गर्ने भन्ने कुरा सोच्नुपर्छ। १८९८ मा फिलिपिनीहरूले जस्तै अहिले धेरै भेनेजुएलालीहरूले दमनकारी नेताको बहिर्गमनलाई स्वागत गरेका छन्। तर परिवर्तनलाई स्वागत गर्नु र अमेरिकाले कब्जा जमाउनु फरक कुरा हो। म्याककिन्लेको फिलिपिन्स कब्जा गर्ने निर्णयले ठूलो विद्रोह निम्त्यायो, जुन दोस्रो विश्वयुद्ध अघिको अमेरिकाको सबैभन्दा लामो विदेशी युद्ध बन्यो। फिलिपिन्स–अमेरिका युद्धमा रोग, भोक र लडाइँका कारण लाखौं फिलिपिनीहरूको मृत्यु भयो।

रक्षा मन्त्रालय वा ह्वाइट हाउसबाट ‘भेनेजुएला चलाउने’विचार प्रशासनका लागि तर्कसंगत लाग्न सक्छ। तर विदेशमा गरिने यस्तो हस्तक्षेपले वर्तमान मात्र होइन, भविष्यका प्रशासनहरूलाई पनि एउटा पासोमा पार्ने जोखिम हुन्छ। यदि अमेरिकाको भूमिकाले भेनेजुएलामा विद्रोह वा विरोध निम्त्यायो भने, राष्ट्रपति यसरी अल्झिनेछन् कि त्यसले अशान्ति र दुखान्त निम्त्याउन सक्छ।

राजनीतिशास्त्री कालेब पोमरोयले तर्क गरेझैं, जब देशहरू बलियो हुन्छन्, उनीहरू अक्सर बढी असुरक्षित महसुस गर्छन्। जब अमेरिकाले फिलिपिन्सलाई गाभ्यो, ठूलो शक्तिले झन् ठूलो जोखिमको अनुभूति गरायो। यदि ट्रम्पले भेनेजुएला चलाउन सुरु गरे भने, उनले भेनेजुएलालाई नियन्त्रण गर्न मात्र असम्भव पाउने छैनन्ः उनी र उनका उत्तराधिकारीहरूका लागि यसलाई छोड्न पनि असम्भव हुनेछ।
फरेन अफेयर्सबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति