काठमाडौं २५ पुस : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका राष्ट्रिय समन्वय परिषद्ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ।
मन्त्री गुप्ता अमेरिका भ्रमणमा जाने तयारी भएको समाचार सार्वजनिक भएपछि एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ:
- एनआरएनए अमेरिकाले नेपाल सरकारका मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण गरेको छैन।
- अमेरिकामा परिषद्को तर्फबाट कुनै पनि युवा-संबन्धी कार्यक्रम आयोजना गरिएको छैन।
- परिषद्सँग कुनै पनि अनधिकृत कार्यक्रम, भ्रमण वा फन्डराइजिङ गतिविधिसँग कुनै सम्बन्ध, स्वीकृति वा संलग्नता छैन।
परिषद्ले आफ्नो आधिकारिक स्वीकृति बिना गरिएका यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा अवैध र अमान्य ठहरिने चेतावनी दिएको छ। साथै, संस्थाको नाम र पहिचान दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ।
विज्ञप्तिमा थप भनिएको छ: यस्ता गैरकानुनी गतिविधिहरूको विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभाग र नेपालस्थित अमेरिकी दूतावासलाई पनि औपचारिक रूपमा जानकारी गराइनेछ।
मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत भएको समाचारपछि फर्जी निमन्त्रणा र सम्भावित मानव तस्करीजस्ता आरोपहरू उठेका छन्। यसै सन्दर्भमा एनआरएनए अमेरिकाले आफ्नो संस्थासँग जोडेर भइरहेका अनधिकृत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यो विज्ञप्ति जारी गरेको हो।
प्रतिक्रिया