काठमाडौं पुस,२४।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन माग गर्दै निर्वाचन आयोगलाई बुझाएको पत्रमा आयोगले स्पष्ट प्रतिक्रिया दिएको छ। निर्वाचन आयोगले कुनै पनि राजनीतिक दलको आन्तरिक विवादमा आफू प्रवेश नगर्ने जनाएको छ।
पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गर्न–गराउन पार्टी नेतृत्वलाई निर्देशन दिन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधरले पुस १६ गते निर्वाचन आयोगमा पत्र दर्ता गराएका थिए।
पत्र प्राप्त भएको पुष्टि गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग पार्टीको आन्तरिक झगडामा संलग्न नहुने स्पष्ट पारे।
‘कुनै पनि पार्टीको अन्तरपार्टी संघर्षमा निर्वाचन आयोग प्रवेश गर्दैन,’ ‘पार्टीको नियमित महाधिवेशनमा प्रतिनिधि पठाउन आग्रह गर्दा पनि आयोगले त्यसो गर्दैन। यो त विवाद भएको विषय हो।’
उनका अनुसार निर्वाचन आयोग कुनै पनि दलको आन्तरिक विवादलाई नियालेर बस्ने निकाय होइन।
यसैबीच नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा उभिएका समूहबीच विवाद चर्किँदै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् भने संस्थापन समूहले नियमित महाधिवेशन नै गर्नुपर्ने र विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने तर्क गर्दै आएको छ।
संस्थापन पक्षले फागुन २१ गते हुने आम निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीलाई नोक्सान हुने चेतावनी दिँदै आएको छ भने गगन–विश्व पक्षले भने चुनावअघि नै नयाँ नेतृत्व लिएर जानुपर्ने अडान दोहोर्याउँदै आएको छ।
विवादकै बीच विशेष महाधिवेशन पक्षधरले पुस २७ गते विशेष महाधिवेशन गर्ने तालिका सार्वजनिक गरिसकेका छन्। विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जनाइएको छ।
प्रतिक्रिया