काठमाडौं पुस २४,।जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीका कारण निर्वाचन नै विथोलिने खालको सुरक्षा चुनौती नरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले अब कुनै हालतमा निर्वाचन नरोकिने दाबी गरे।
‘निर्वाचन अब केही गरे पनि रोकिनेवाला छैन। कतिपयलाई जितिँदैन भन्ने लागेर चुनाव हुँदैन भन्ने कुरा उठाइएको छ, यस्ता कुरा विगतमा पनि हुने गरेका थिए,’ गृहमन्त्री अर्यालले भने।
सुरक्षा चुनौतीको अवस्थाबारे छलफल गर्न पाँच प्रदेश पुगिसकेको र बाँकी दुई प्रदेशमा पुग्न बाँकी रहेको जानकारी दिँदै उनले प्रदेशस्तरमा मुख्यमन्त्री तथा सुरक्षा निकायसँग छलफल गर्दा चुनाव रोक्ने स्तरको चुनौती नदेखिएको बताए। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीको विषय उठे पनि त्यसले निर्वाचन नै अवरुद्ध गर्ने अवस्था नरहेको उनको भनाइ थियो।
‘गृह मन्त्रालयको निरन्तर प्रयासका बाबजुद केही हतियार र केही कैदी बाहिर छन्, तर त्यसैले चुनाव रोकिन्छ भन्ने अवस्था होइन,’ उनले भने। लुटिएका हतियारको संख्या थोरै रहेको जनाउँदै उनले तीमध्ये अधिकांश प्रयोगमा नआउने, टियर ग्याससँग सम्बन्धित, भाँचिएका वा आगजनीमा परेका हतियार भएको बताए। प्रयोगयोग्य हतियार अत्यन्तै कम रहेको उनको दाबी छ।
गृहमन्त्री अर्यालले सरकार सबै राजनीतिक दललाई सहभागी गराएरै निर्वाचनमा जाने स्पष्ट पार्दै जेनजीलाई मूलधारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। ‘दललाई पर धकेल्दैनौं। जेनजीको सरकार हो, जेनजीलाई मूलधारमा ल्याएरै छाड्छौं,’ उनले भने।
निर्वाचन भयरहित बनाउन उच्च अनुशासनमा काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन
यसैबीच, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न उच्च व्यावसायिकता र अनुशासनका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सुरक्षा संवेदनशीलताबारे निर्देशन दिँदै उनले संगठनको सुदृढीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताए।
महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, पारदर्शी र वस्तुनिष्ठ अपराध अनुसन्धान तथा अपराधविरुद्ध निर्मम रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। सीमा नाकामा तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै भिड नियन्त्रणमा सिलसिलेवार बल प्रयोगको सिद्धान्त अपनाउनुपर्नेमा उनले जोड दिए।
साथै सवारी दुर्घटना न्यूनीकरण, स्थानीय तह र सरोकारवालासँग समन्वय, व्यावसायिक, उत्तरदायी र जवाफदेही सुरक्षा व्यवस्थापनमा ध्यान दिन उनले निर्देशन दिए। शिष्ट बोली, बचन र व्यवहारमार्फत नागरिकका गुनासा सम्बोधन गर्न पनि उनले प्रहरी कर्मचारीलाई आग्रह गरे।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीसहित काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।
प्रतिक्रिया