शारदा शर्मा
काठमान्डौ पुष २३
काठमाडौं
केवल अग्ला भवन मात्र हैन
झिलिमिली बत्ती मात्र हैन,
क्याफेमा फैलिएको हाँसो होइन,
काँचका भवनमा झुल्किएको
सूर्य पनि होइन।
काठमाडौँ
बिहान सबेरै उठ्ने
ती हातहरूको पसिना हो
मेहनेत गर्नेहरुको सुगन्ध हो
जसले सडक सफा गर्छ,
घर उभ्याउँछ,दुध बेच्छ ,
अनि मकै पोल्छ ।
अनेक रहर सांचेर
शहर चलाइरहन्छ।
उनीहरुको सपनाको पुलिन्दा हो।
काठमाडौँ
डोजरको आवाज सुन्दा
छाती चर्किने
बागमती किनारको डर हो,
एकै रातमा
घरबाट ‘अवैध’ बनाइने
जीवनको कथा हो।
यहाँ चमेलीको समस्या उचालेर शब्द बनाइन्छ
तर चमेलीको आस्थामा डोजर चलाइन्छ ।
गरिबको गित लेखेर चर्चा कमाइन्छ
गरिखाने पुटपाथमा अधिकार जमाइन्छ ।
गरिबको आस्थामा डोजर चलाउनु अपराध होइन,
फुटपाथमा बस्ने मान्छे
अपराधी बनाइन्छ।
सपना बेच्नु लाज होइन,
तर गरिब हुनु
लज्जा बनाइन्छ ।
काठमाडौँ
सपना बोकेर आउनेहरूको
भीड पनि हो,
तर सपना टुट्दा
दोष बोकेर फर्किनुपर्ने
एक्लोपन पनि हो।
यहाँ
घरभाडा महँगो छ,
तर श्रम सस्तो छ—
सोच्न सक्ने अवस्था छैन
कस्को भाग्य कस्तो छ ।
काठमाडौँ
ढुंगाले बनेको शहर मात्र होइन,
आशा र सपनाको धरोहर हो।
साच्चै
सुन्ने हो भने
यो शहर बोल्छ—
झाडु लगाउने आमाको स्वरमा,
इँटा बोक्ने युवकको सासमा,
फुटपाथमा सुत्ने बच्चाको सपनामा।
मकै पोल्ने मकैवालीको पौरखमा ।
त्यसैले
काठमाडौँ गरिबहरूको पनि हो
प्रतिक्रिया