कर्णालीबाट मिनासिंह रखाललाई एमालेले बनायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार

काठमाडौं पुष २३। नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि दैलेखकी मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेकी रखाललाई महिला क्लस्टरबाट उम्मेदवार चयन गरिएको पार्टी स्रोतले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु भएको छ । सोही क्रममा एमालेले कर्णाली प्रदेशबाट राखलको उम्मेदवारी टुंग्याएको हो । यसअघि पार्टीभित्र कर्णालीबाट पुरुष उम्मेदवार बनाउने कि भन्ने विषयमा छलफल भए पनि अन्ततः महिला क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

मिनासिंह रखालले २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएकी थिइन् । २०५४ सालमा दैलेखको नारायण नगरपालिकाको नगर कमिटी सदस्य हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेकी उनी त्यसपछि जिल्ला कमिटी सदस्य, पार्टी उपसचिव, साविक भेरी अञ्चल कमिटी सदस्य हुँदै तीन कार्यकालसम्म एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।

उनी एमालेको ९औँ र १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि उनी केन्द्रीय सदस्य रहिन् । साथै, लामो समयसम्म एमालेको जनवर्गीय संगठन अखिल महिला संघको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्दै पार्टी गतिविधिमा सक्रिय रहँदै आएकी छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी समानुपातिक प्रणालीबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । आफू २०५४ सालदेखि निरन्तर पार्टीको काममा सक्रिय रहेको रखालको भनाइ छ ।

कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस मतभारमा सबैभन्दा अगाडि छ । कांग्रेससँग स्थानीय तहका प्रमुख/अध्यक्ष, उप–प्रमुख/उपाध्यक्ष र प्रदेशसभा सदस्य गरी कुल १ हजार ८७३ मतभार रहेको छ ।

नेकपा माओवादी केन्द्रसँग १ हजार ६०१, नेकपा एमालेसँग १ हजार १९५ र एकीकृत समाजवादीसँग २४३ मतभार छ । स्वतन्त्र उम्मेदवारतर्फ स्थानीय तहका प्रमुखबाट ९५ मतभार रहेको छ भने प्रदेशसभामा स्वतन्त्र र राप्रपाबाट एक–एक सदस्य गरी कुल १०६ मतभार रहेको छ ।

दलहरूबीचको शक्ति सन्तुलन हेर्दा कर्णाली प्रदेशबाट हुने दुई सिटको राष्ट्रिय सभा निर्वाचन सर्वसम्मत रूपमा टुंगिने सम्भावना पनि देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति