काठमाडौं २३ पुस (एजेन्सीहरुको सहयोगमा) । भेनेजुएलाको राजधानी काराकासका सडकहरूमा मङ्गलबार हजारौँ समर्थकहरूले पूर्वराष्ट्रपति निकोलास मदुरोको समर्थनमा विशाल प्रदर्शन गरेका छन्। उनीहरूले मदुरोलाई अमेरिकी जेलबाट मुक्त गर्न माग गर्दै नारा लगाएको न्यूयोर्क टाइम्सले महत्वकासाथ लेखेको छ । यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई ‘चलाउने’ दाबी गरेको केही दिनपछि भएको हो। भेनेजुएलाको अन्तरिम नेतृत्वकर्ता डेल्सी रोड्रिगेजले ट्रम्पको भेनेजुएला चलाउने दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै भनिन् ‘भेनेजुएलाको सरकारले नै हाम्रो देश चलाउँछ। कुनै बाहिरी शक्तिले होइन।’

यो प्रदर्शन मदुरोको गिरफ्तारीपछि भेनेजुएलामा उत्पन्न राजनीतिक उथलपुथलको एक हिस्सा हो। अमेरिकी सेनाले शनिबार काराकासमा विशेष अपरेसन गर्दै मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई गिरफ्तार गरेको थियो। यो अपरेसनलाई संयुक्त राष्ट्रसंघको चार्टर उल्लङ्घन गर्ने कार्यको रूपमा आलोचना गरिएको छ।

मदुरोलाई लागूऔषध तस्करीको आरोपमा न्यूयोर्क ल्याउर उनीमाथि मुद्दा चलाइएको छ। गिरफ्तारीका क्रममा करिब ८० जनाको ज्यान गएको न्यूयोर्क टाइम्सले नै उल्लेख गरेको छ। मारिनेहरुमा धेरै निर्दोष नागरिक रहेका थिए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो काबेलोले यो अपरेसनलाई ‘अमेरिकी आक्रमणु भन्दै निन्दा गरे । उनले भने, ‘उनीहरू सुतिरहेका थिए, कुनै सम्बन्ध नभएका मानिसहरु थिए, तर बम विस्फोट भयो। यो अन्तर्राष्ट्रिय कानुन र अमेरिकी कानुन दुवैको उल्लङ्घन हो।’

प्रदर्शन मार्चमा सहभागीहरूले मदुरोको तस्बिर बोकेका थिए र ‘निकोलास र सिलियालाई फिर्ता गरु जस्ता नारा लगाएका थिए। काबेलोले र्यालीलाई सम्बोधन गर्दै भने, ‘विश्वभर आवाजहरू उठिरहेका छन्, तर भेनेजुएलाका आवाजहरू सबैभन्दा माथि छन्। हामी युद्धमा जान तयार छौँ।’ यो र्यालीले मदुरोको शासनकालमा बनेको शक्तिशाली संरचना अझै पनि कायम रहेको संकेत गरेको छ।
अन्तरिम राष्ट्रपति रोड्रिगेजले एक सरकारी कार्यक्रममा बोल्दै ट्रम्पको दाबीलाई चुनौती दिएकी छन् । उनले भनिन् ‘भेनेजुएलालाई भेनेजुएलाले नै चलाउँछ। यो पूर्ण रूपमा अवैध हो।‘ रोड्रिगेज मादुरोको निकट सहयोगी हुन् र उनलाई मादुरो को उत्तराधिकारीको रूपमा हेरिएको छ। उनी ट्रम्प प्रशासनको दबाब र देशभित्रका शासक वर्गको वफादारीबीच सन्तुलन कायम गर्न संघर्षरत छन् ।
यो घटनाको पृष्ठभूमिमा ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योगलाई पुनरुत्थान गर्ने योजना अघि सारेको छ। भेनेजुएलासँग विश्वको १७ प्रतिशत तेल भण्डार छ, तर राजनीतिक अस्थिरता, आर्थिक संकट र अमेरिकी प्रतिबन्धका कारण उत्पादन घटेको छ। नोभेम्बरमा दैनिक ८२०,००० ब्यारेल तेल उत्पादन भएको अनुमान छ। ट्रम्पले बारम्बार भेनेजुएलालाई ‘चलाउने’ र तेल उत्पादन बढाउने कुरा गरिरहेका छन् । यसले अन्तर्राष्ट्रिय तेल बजारमा सामान्य प्रभाव पारेको छ, तर लगानीकर्ताहरूले अमेरिकी कम्पनीहरूका लागि नयाँ अवसर देखेका छन्। अमेरिकी स्टक बजारमा एसएण्डपी ५०० सूचकांक ०.६ प्रतिशतले बढेको छ।
कसले के भने ?
अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू पनि तीव्र छन्। कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रोले ट्रम्पलाई ‘सेनाइल ब्रेन’ भन्दै आलोचना गरेका छन् । उनले भने ‘ट्रम्पले मलाई लागूऔषध तस्कर भन्नु उहाँको सेनाइल दिमागको प्रतिबिम्ब हो। हामी हाम्रो कोइला र तेल दिन अस्वीकार गर्छौँ।’ कोलम्बियाका विदेश मन्त्री रोसा भिलाभिसेन्सियोले अमेरिकासँग कूटनीतिक सम्बन्ध कायम राख्ने तर आक्रमण भएमा सैन्य प्रतिरोध गर्ने बताए । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी हस्तक्षेपको सम्भावनालाई न्यून मानेकी छन् ।
ग्रिनल्याण्ड अमेरिकालाई आवश्यक
यसैबीच, ट्रम्प प्रशासनले ग्रीनल्यान्ड किन्ने वा कब्जा गर्ने धम्की दोहोर्याएको छ। सेक्रेटरी अफ स्टेट मार्को रुबियोले सांसदहरूसँगको ब्रिफिङमा खरिद गर्ने योजना भएको बताए, तर ह्वाइट हाउसले सैन्य प्रयोगलाई अस्वीकार गरेको छैन। युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै ग्रीनल्यान्डको सार्वभौमिकतालाई सम्मान गर्न आग्रह गरेका छन्। फ्रान्स, जर्मनी, बेलायतलगायतका नेताहरूले नाटोको एकताको महत्व दर्शाउँदै संरासंघ चार्टरको पालना गर्न भनेका छन्। ग्रीनल्यान्डका विदेश मन्त्री भिभियन मोट्जफेल्डले अमेरिकासँग बैठकको माग गरेका छन् । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले डेनमार्कलाई पूर्ण समर्थन जनाएका छन् ।
भेनेजुएलाको विपक्षी नेतृ मारिया कोरिना माचाडोले फक्स न्यूजमा ट्रम्पको प्रशंसा गर्दै नोबेल शान्ति पुरस्कार उहाँलाई दिन तयार रहेको बताएकी छन् । उनले मादुरोको गिरफ्तारीलाई स्वागत गर्दै ट्रम्पले भेनेजुएलाको विपक्षीलाई समर्थन नगरेकोमा चिन्ता व्यक्त गरन्। मादुरोको गिरफ्तारीपछि न्यूयोर्कका भेनेजुएली प्रवासीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले उत्सव मनाएका छन् भने कतिपयले आफ्नो शरणार्थी स्थिति बारे चिन्ता गरेका छन्।

ट्रम्पले एनबीसी सँगको अन्तर्वार्तामा भेनेजुएला युद्धमा नभएको तर अमेरिका लामो समयसम्म संलग्न रहने बताए। उनले आफूलाई ‘शीर्ष व्यक्ति’ भन्दै सेक्रेटरी रुबियो, रक्षा सचिव पिट हेगसेथ र स्टेफन मिलरको टोलीले हेर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघका मानवअधिकार कार्यालयले यो हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेको छ।
यो घटनाक्रमले विश्व राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। भेनेजुएलाको अन्तरिम सरकारले एकताको प्रदर्शन गर्दै अमेरिकी ‘राज्य आतंकवाद’विरुद्ध एकजुट भएको छ। आगामी दिनहरूमा यसले कस्तो मोड लिन्छ, त्यो हेर्न बाँकी छ।
प्रतिक्रिया