काठमाडौं २२पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले पूर्वमन्त्री बलराम अधिकारीमाथि पाँच करोड रुपैयाँ लिएर बौद्धनाथस्थित ‘चिनियाँ लामा’ नियुक्त गरेको गम्भीर उजुरी आफूकहाँ आएको खुलासा गरेका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन सातामै विभिन्न निकायमा घुस र बेथितिका सूचना आउन थालेको भन्दै मन्त्री इङ्नामले एउटा उजुरी निकै गम्भीर र चिन्ताजनक रहेको बताए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त उजुरीबारे जानकारी गराएका हुन् ।
उजुरीअनुसार ओली सरकारको कार्यकालमा भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेका बलराम अधिकारीले पाँच करोड रुपैयाँ लिएर गुठी संस्थान अन्तर्गत ‘चिनियाँ लामा’ नियुक्त गराएको आरोप लगाइएको छ । मन्त्री इङ्नामका अनुसार, उक्त नियुक्ति पछि बौद्धनाथ स्तुपा क्षेत्रमा अनियमित गतिविधि बढेको गुनासो आएको हो ।
उनले बताएअनुसार, बौद्धनाथमा निश्चित धार्मिक नियमअनुसार मात्रै पूजा गर्न पाउने व्यवस्था भए पनि हाल पदमा रहेका चिनियाँ लामाले ५ देखि १० हजार रुपैयाँ असुली गरेर जुत्ता र पेटी लगाएकै अवस्थामा विशेष स्थानमा पूजा गर्न दिने गरेका छन् ।
‘धार्मिक आस्थाको नाममा पैसा उठाउने गलत चलन बढेको छ,’ मन्त्री इङ्नामले भने, ‘चिनियाँ लामा बन्नकै लागि पाँच करोड रुपैयाँ बुझाइएको भन्ने उजुरी आएको छ ।’
पत्रकारहरूले पूर्वमन्त्री को हुन् भनेर सोध्दा मन्त्री इङ्नामले बलराम अधिकारीको नाम उल्लेख गरे । यद्यपि, उनले हालसम्म लिखित उजुरी भने नआएको स्पष्ट पारे ।
बौद्धनाथस्थित उक्त धार्मिक संस्था गुठी संस्थान अन्तर्गत सञ्चालन हुँदै आएको छ । चिनियाँ लामाको नियुक्ति गुठी संस्थानबाटै हुने व्यवस्था रहेकाले मन्त्रालय मातहतकै निकायबाट नियुक्त व्यक्तिमाथि प्रश्न उठेको हो ।
उजुरी आएपछि हाल कार्यरत चिनियाँ लामालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री इङ्नामले जानकारी दिए । उनका अनुसार, यस विषयमा मुख्यसचिव सुमनराज अर्याल र सम्बन्धित सचिवहरूलाई समेत उजुरी पुगेको थियो ।
मन्त्रालय स्रोतका अनुसार, मुख्यसचिव अर्यालले विषय गम्भीर देखिएपछि तत्काल भूमि व्यवस्था मन्त्रालयका सचिवलाई आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएका थिए ।
‘काम गर्न अनेक अवरोध छन्,’ मन्त्री इङ्नामले भने, ‘तर घुस र बेथितिमा संलग्न जो–कोहीलाई हटाएरै छाड्छु ।’
यस विषयमा अनलाइनखबरले पूर्वमन्त्री बलराम अधिकारीसँग प्रतिक्रिया माग्दा उनले घुसको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार, चिनियाँ लामाको नियुक्ति गुठी संस्थानको निर्णय हो, आफूले कुनै निर्णय नगरेको दाबी गरे ।
‘उहाँको कार्यकाल सकिएपछि विवाद भएको थियो,’ अधिकारीले भने, ‘विवाद बढेपछि पुरानै व्यक्तिलाई निरन्तरता दिइएको हो । घुस लिएको आरोप पूर्ण रूपमा गलत हो ।’
पूर्वमन्त्री अधिकारी यसअघि पनि विभिन्न घुस प्रकरणमा मुछिँदै आएका छन् । कास्की भूमि आयोगको अध्यक्ष नियुक्तिमा घुस लेनदेनको अडियो सार्वजनिक भइसकेको छ । साथै, पोखराको लिचीबारी घुस प्रकरणमा समेत उनीमाथि आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ गते विशेष अदालतमा पेश गरेको आरोपपत्रमा लिचीबारी प्रकरणमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान हुने जनाएको थियो, जसमा पूर्वमन्त्री अधिकारीको नाम पनि जोडिएको छ ।
प्रतिक्रिया