काठमाडौं, पुष २२ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार ठूलो तनाव भएको छ । विशेष महाधिवेशन माग गर्ने पक्षधर कार्यकर्ताहरूले मुख्य गेटमा अवरोध गरेपछि नेताहरू वैकल्पिक (‘चोर’) गेटबाट कार्यालय प्रवेश गर्न बाध्य भएका छन् । प्रदर्शनकारीले नेताहरूलाई गालीगलौज गर्दै ‘पार्टीलाई बन्दी बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए । यस क्रममा केही नेतासँग कार्यकर्ताको बाझाबाझ र धकेलाधकेलसमेत भएको छ ।
विमलेन्द्र निधि माथि मुर्दाबाद नारा
पूर्वउपसभापति विमलेन्द्र निधि कार्यालय प्रवेश गर्न खोज्दा विशेष महाधिवेशन पक्षधरले अवरोध गरे । प्रहरीले पन्छाएर भित्र छिराएपछि निधिले प्रदर्शनकारीलाई ‘तपाईँहरू कांग्रेसी होइन’ भन्दै जवाफ फर्काएका थिए । त्यसपछि निधिविरुद्ध मुर्दाबादको नारा लागेको थियो । निधिले विशेष महाधिवेशन नहुने अडान लिएपछि कार्यकर्ताको आक्रोश बढेको हो ।
विशेष महाधिवेशन पक्षधर नेताहरूलाई कार्यालय प्रवेशमा रोक लगाइएको जवाफमा उनीहरूले संस्थापन पक्षका नेताहरूलाई पनि अवरोध गरिरहेका छन् ।
बैठक ढिलो: राष्ट्रिय सभा तालमेल मुख्य एजेन्डा
बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठक १ बजेसम्म सरे पनि अवरोधका कारण अझै सुरु हुन सकेको छैन । बैठकमा माघ ११ को राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी र अन्य दलसँगको सम्भावित तालमेलबारे छलफल हुने अपेक्षा गरिएको छ ।
सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभामा कांग्रेसको मतभार बलियो रहेको भन्दै अन्य दलसँग सहकार्य गरेर प्रतिनिधित्व सुनिश्चित गर्ने ब्रिफिङ गरेका थिए । आजको बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका उम्मेदवार को–को हुने भन्ने औपचारिक निर्णय हुने बताइएको छ ।
विशेष महाधिवेशनको विवाद
कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवाद चर्किएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन पक्षधरले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी माग गरेका छन् । संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा निकट) भने नियमित महाधिवेशनलाई प्राथमिकता दिँदै विशेष महाधिवेशनलाई टार्ने प्रयासमा छ । यसै विवादका कारण पार्टी कार्यालयमा तनाव बढेको हो ।
प्रतिक्रिया