पूर्वमाओवादी नेता उमेश यादव जसपामाप्रवेश, एमालेका चारपटक सांसद बृजेश गुप्ताले पार्टी त्यागे

काठमाडौं, २२ पुस । नेपालको राजनीतिक वृत्तमा दल परिवर्तनको लहर चलिरहेको छ । सप्तरी जिल्लाका पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् भने नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका बृजेशकुमार गुप्ताले एमाले परित्याग गरेका छन्। यी दुवै घटनाले मधेशकेन्द्रित राजनीति र पुराना दलहरूको आन्तरिक असन्तुष्टिलाई देखाइरहेको छ ।
उमेश यादव जसपा नेपालमा
सप्तरी निवासी पूर्वमाओवादी नेता उमेश प्रसाद यादवले जसपा नेपालमा औपचारिक प्रवेश गरेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। त्यसबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका थिए।
तर २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। यसपटक यादवले उपेन्द्र यादवकै पार्टीमा प्रवेश गरेर राजनीतिक यात्रालाई नयाँ मोड दिएका छन्।
एमालेका बृजेश गुप्ताको पार्टी परित्याग
यता, नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य बृजेशकुमार गुप्ताले पार्टीबाट राजीनामा दिएका छन्। कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका गुप्ता पूर्वसंघीय मन्त्रीसमेत हुन्।
गुप्ताले गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा तत्कालीन ओली सरकारले युवा–विद्यार्थीहरूको सुशासनलगायत जायज मागलाई बेवास्ता गरेर दमन गरेको, दुई ठूला दल मिलेर जे पनि गर्न सकिन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखिएको कारणले पार्टी छोडेको बताएका छन्।
ूपार्टी नेतृत्वको ध्यान, गतिविधि र संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखियो,ू गुप्ताले अनलाइनखबरसँग भने, ूनेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती(कमजोरी कहिल्यै नस्वीकार्ने पटक(पटक देखियो, त्यसैले राजीनामा दिएको हुँ।ू
गुप्ताले भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र एमालेको महाधिवेशनमा पनि नगएको बताएका छन्। राजनीति नै गर्ने भएकाले अब कुन दलमा जाने भन्नेबारे आफ्नो क्षेत्रका मतदाता र शुभचिन्तकसँग सल्लाह गरिरहेको उनको भनाइ छ।
ईन्जिनियरको स्थायी जागिर छोडेर २०५६ देखि राजनीतिमा आएका गुप्ता सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), त्यसपछि तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै दुईपटक एमालेबाट सांसद बनेका थिए। उनले २०५६ र २०७४ मा प्रतिनिधिसभा तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्य जितेका थिए। २०७९ को चुनावमा भने कांग्रेसका सुरेन्द्रराज आचार्यसँग झिनो मतान्तरले पराजित भएका थिए।

यी दुवै घटनाले पुराना कम्युनिस्ट पार्टीहरूबाट असन्तुष्ट नेताहरूको बहिर्गमन र मधेशकेन्द्रित दलहरूमा नयाँ आकर्षण बढेजस्तो देखिन्छ । जेन–जी आन्दोलनपछिको राजनीतिक अस्थिरतामा यस्ता दल परिवर्तनले आगामी फागुन २१ को निर्वाचनमा नयाँ समीकरण निम्त्याउने अनुमान हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति