काठमाडौं पुस २१,। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनहरूमा नेपाल र क्षेत्रीय राजनीतिमा विकसित राजनीतिक घटनाक्रमबारे भारतीय राजनीतिक वृत्तका नेताहरू तथा मित्रहरूसँग अनौपचारिक छलफल तथा समीक्षा भएको बताएका छन् ।
सोमबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पार्टीको ‘एकता सभा तथा साक्षात्कार कार्यक्रम’लाई सम्बोधन गर्दै प्रचण्डले हिजोदेखि आजसम्म करिब दुई दिनसम्म विभिन्न भेटघाट र संवाद भएको जानकारी दिएका हुन् । उनले ती भेटघाटहरू औपचारिक भन्दा पनि अनौपचारिक प्रकृतिका रहेको स्पष्ट पारे।
‘केही विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढंगले कतिपय भारतीय मित्रहरूसँग मेरो समीक्षा भएको छ, हिजोदेखि आजसम्म,’ प्रचण्डले कार्यक्रममा भने । तर उनले कुन विषयमा र कुन–कुन भारतीय नेतासँग छलफल भएको हो भन्नेबारे भने खुलाएका छैनन् ।
प्रचण्डका अनुसार पछिल्लो समय नेपालभित्र विकसित राजनीतिक अवस्था, सत्ता समीकरण, पार्टी एकता तथा राष्ट्रिय राजनीतिमा देखिएका परिवर्तनहरूका विषयमा सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले यो भ्रमण तथा कार्यक्रम तय गरिएको हो । उनले कार्यक्रम अचानक तय गर्नुपरेको पृष्ठभूमिबारे पनि स्पष्ट पार्दै भने, ‘यस किसिमले अचानक, झण्डै दुई दिन पनि होइन, एक दिन अगाडि मात्रै यो कार्यक्रम गर्ने निर्देशन जारी गरियो ।’
उनले यस अचानक तय भएको कार्यक्रमको पछाडि देशभित्र र बाहिर विकसित राजनीतिक घटनाक्रम रहेको बताए । साथै, आफू प्रधानमन्त्री भएको समयमा नेपाल–भारत सम्बन्ध सुधार र सुदृढीकरणका लागि लिएका कतिपय निर्णयहरूबारे पनि भारतीय मित्रहरूसँग अनौपचारिक रूपमा समीक्षा गर्ने उद्देश्य रहेको प्रचण्डको भनाइ छ ।
‘पछिल्लो पटक मैले प्रधानमन्त्रीको हैसियतले नेपाल–भारत सम्बन्धमा गरेका कतिपय निर्णयहरूको अनौपचारिक ढंगले भारतीय मित्रहरूसँग समीक्षा गर्ने र त्यसबारे सल्लाह, सुझाव संकलन गर्ने उद्देश्य पनि भ्रमणको एउटा कारण थियो,’ उनले थपे ।
यसका साथै, भारत भ्रमणका क्रममा पार्टी एकताको सन्देश प्रवाह गर्ने लक्ष्य पनि रहेको प्रचण्डले बताए । उनले देशभित्र विभिन्न स्थानमा सञ्चालन हुँदै आएका एकता सन्देश सभाको निरन्तरता स्वरूप भारतबाट पनि त्यसको सुरुवात गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
‘आएको बेलामा एकता सन्देश सभा गर्ने, जसरी देशभर कार्यक्रमहरू चलेका छन्, यहाँ पनि त्यसको सुरुवात गर्ने हाम्रो प्रमुख उद्देश्य थियो,’ प्रचण्डले भने ।
उनको भनाइले नेपाली राजनीतिमा विकसित नयाँ घटनाक्रम, पार्टी एकता प्रक्रिया र छिमेकी मुलुक भारतसँगको राजनीतिक तथा कूटनीतिक संवादलाई थप महत्वका साथ अगाडि बढाउने संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
प्रतिक्रिया