काठमाडौं २१ पुस,। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण बाहिर जान सक्ने अवस्था देखिएपछि स्थानीय प्रशासनले पर्साको वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ । पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शन र झडपको सम्भावनालाई ध्यानमा राख्दै शान्ति–सुरक्षा कायम गर्न कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू आदेश लागू गरिएको हो । कर्फ्यू अवधिभर अत्यावश्यक सेवा बाहेक सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रजिअ दाहालले जानकारी दिएअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस, प्रदर्शन तथा हिँडडुल गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो । सुरक्षाकर्मीलाई कर्फ्यू उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिइएको छ ।
यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । तर निषेधाज्ञाका बाबजुद पनि तनावपूर्ण अवस्था कायमै रहेपछि थप कडाइ गर्दै कर्फ्यू लागू गर्नुपरेको प्रशासनको भनाइ छ ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच आइतबारदेखि लगातार प्रदर्शन हुँदै आएको छ । प्रदर्शनका क्रममा नाराबाजी, तनावपूर्ण अवस्था र झडपको सम्भावना देखिएपछि वीरगञ्जको अवस्था क्रमशः अशान्त बन्दै गएको थियो । सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ ।
प्रशासनले सबै पक्षलाई संयमित रहन, अफवाह नफैलाउन र शान्ति कायम गर्न सहयोग गर्न अपिल गरेको छ । साथै, वार्ता र संवादमार्फत समस्या समाधान गरिने भन्दै कर्फ्यू आदेश अस्थायी भएको र अवस्था सामान्य बन्दै गएपछि हटाइने पनि जनाएको छ ।
वीरगञ्जमा कर्फ्यू जारी, सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया