भेनेजुएलासम्बन्धी तीनवटा पुस्तकका लेखक फ्रान्सिस्को रोड्रिगेजसँगको कुराकानी

जनवरी ३ को बिहानै अमेरिकी फौजले काराकासमा आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरेर देशबाहिर उडाए। यो निकासी अभियानले अमेरिकाले मादुरोको शासनविरुद्ध महिनौँदेखि गर्दै आएको सैन्य दबाबको समापन गरेको छ। मादुरोलाई न्यूयोर्क शहरमा हिरासतमा राखिएको छ, जहाँ उनलाई संघीय लागूऔषध र हतियारसम्बन्धी अभियोगहरूको सामना गर्नुपर्नेछ। शनिबारको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्ः उनी भेनेजुएलामा फेरि आक्रमण गर्न तयार छन् र वाशिङ्टनले अनिश्चितकालका लागि “देश चलाउनेछ”।
भेनेजुएला, अमेरिका र क्षेत्रका लागि यसको अर्थ के हो भन्ने अन्तर्दृष्टिका लागि, फरेन अफेयर्सले फ्रान्सिस्को रोड्रिगेजसँग कुरा गरेको छ। (रोड्रिगेजले सन् २००० देखि २००४ सम्म भेनेजुएलाको राष्ट्रिय सभाको आर्थिक तथा वित्तीय सल्लाहकार प्रमुखको रूपमा काम गरेका थिए। रोड्रिगेजले सन् २००८ देखि २०११ सम्म संयुक्त राष्ट्रसंघको मानव विकास प्रतिवेदन कार्यालयको अनुसन्धान टोलीको प्रमुख र सन् २०११ देखि २०१६ सम्म बैंक अफ अमेरिकाको मुख्य एन्डियन अर्थशास्त्रीको रूपमा पनि काम गरेका थिए। उनी भेनेजुएलासम्बन्धी तीनवटा पुस्तकका लेखक हुन् र हाल सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चमा वरिष्ठ अनुसन्धान फेलो तथा डेनभर विश्वविद्यालयमा प्राध्यापक छन्। रोड्रिगेजले शनिबार दिउँसो वरिष्ठ सम्पादक ड्यानियल ब्लकसँग कुरा गरेका थिए। कुराकानीलाई लम्बाइ र स्पष्टताका लागि सम्पादन गरिएको छ।)
भेनेजुएलाको वर्तमान राजनीतिक अवस्था के छ ?
मादुरोले स्थापना गरेको भेनेजुएलाको सरकारको संरचना अझै सत्तामा छ। उनको शासनले अझै सेनालाई नियन्त्रण गरेको छ। यसले सुरक्षा फौजहरूलाई नियन्त्रण गरेको छ। उनका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले उनको स्थानमा पद सम्हालेकी छिन्। अर्को शब्दमा भन्दा, यो राजनीतिक नेताको हत्याको घटनासँग धेरै मिल्दोजुल्दो छ। तपाईं टाउको हटाउनुहुन्छ, तर संरचना अझै नियन्त्रणमा रहन्छ।
अब यो संरचना कति टिक्छ भन्ने अनिश्चित छ। शनिबारको पत्रकार सम्मेलनमा ट्रम्पले प्रभावकारी रूपमा संकेत गरेः यदि रोड्रिगेजले अमेरिकासँग सहयोग गरेनन् भने उनी अर्को सैन्य अभियान सञ्चालन गर्नेछन्। ट्रम्प चाहन्छन् कि वाशिङ्टनले देश चलाओस्, त्यसैले मेरो अनुमान छ कि उनी भेनेजुएलामाथि प्रभाव जमाउने कुनै टोली गठन गर्नेछन् र भेनेजुएलाको सरकारलाई विभिन्न मागहरू पूरा गर्न भन्नेछन्।
भेनेजुएलाको सरकारले त्यस्तो व्यवस्था स्वीकार गर्न सक्छ र ?
सरकारको निश्चित हिस्साले अवश्य पनि “हामी प्रतिरोध गर्नेछौँ” भन्नेछ। तर अमेरिकाले आफ्नो सैन्य धम्की विश्वसनीय भएको प्रमाणित गरेको छ। र ट्रम्पका मागहरू रोड्रिगेजका लागि सुरुमा देखिएजस्तो असह्य नहुन सक्छन्। जब उनी भन्छन् कि वाशिङ्टन “देश चलाउनेछ”, उनी सम्भवतः अमेरिकी कम्पनीहरूलाई फर्काउने र अमेरिकालाई भेनेजुएलाको तेल नियन्त्रण दिने कुरा गर्दैछन्। रोड्रिगेजले त्यो पूरा गर्न सक्छिन्। वास्तवमा, मादुरोले सन् २०२५ मा त्यस्तै सम्झौता गर्ने प्रयास गरेका थिए। उनले ट्रम्पलाई प्रस्ताव गरेका थिए कि “हाम्रो तेल उद्योगमा तपाईंलाई जे चाहिन्छ त्यो लिन सक्नुहुन्छ”।
ट्रम्पले मादुरोसँग त्यो स्वीकार गरेनन् नि। उनी रोड्रिगेजसँग किन त्यस्तै व्यवस्था गर्न तयार हुन सक्छन् ?
मादुरो पूर्ण रूपमा विषाक्त भएका थिए—एक दुष्ट तानाशाहको प्रतीक। ट्रम्पले अहिले भन्दैछन् कि उनी मादुरोपछिको सरकारसँग यो गर्न तयार छन्, चाहे त्यो मादुरोकै मानिसहरूले नेतृत्व गरे पनि। अमेरिकाले मादुरो र उनकी पत्नीलाई सुतिरहेको बेला यति सजिलै पक्राउ गर्न सफल भएको कुरा रोचक लाग्यो। यसले बलियो संकेत गर्छ कि उनलाई पहरा दिने भेनेजुएलाका फौजबाट आन्तरिक सहयोग थियो। यसको अर्थ पूरै शासनले मादुरोलाई धोका दियो भन्ने होइन। तर यो कुनै दरबार षड्यन्त्रजस्तो हुन सक्छ। ‘विदेशमन्त्री’ मार्को रुबियो पहिले नै रोड्रिगेजसँग कुरा गर्दैछन्, र ट्रम्पले भने कि उनी सोच्छन् रोड्रिगेज ट्रम्पका शब्दमा “भेनेजुएलालाई फेरि महान बनाउन” आवश्यक काम गर्न तयार छिन्। र आश्चर्यजनक रूपमा, ट्रम्पले भने कि मारिया कोरिना माचाडो—गत वर्ष मादुरोको निर्वाचन हारको पछाडि रहेकी विपक्षी नेतृ— उनले देशको नेतृत्व गर्न आवश्यक सम्मान छैन। त्यसैले ट्रम्पलाई लाग्छ कि उनी भेनेजुएलाको वर्तमान सरकारसँग तेल सुरक्षा र राष्ट्रिय सुरक्षाका अमेरिकी मागहरू पूरा गर्न काम गराउन सक्छन्।
त्यसो भन्दैमा, शासनले ट्रम्पका मागहरू पूरा गर्न इच्छुक नहुन सक्छ। अन्य सरकारका अधिकारीहरूले कुनै पनि सम्झौताविरुद्ध दबाब दिन सक्छन्। त्यस अवस्थामा ट्रम्पले थप सैन्य आक्रमण र अन्ततः स्थल आक्रमण गरेर दबाब बढाउनुबाहेक विकल्प नभएको निर्णय गर्न सक्छन्। ट्रम्पले यो अभियानमा धेरै लगानी गरेका छन्, र अहिले उनी यसलाई ठूलो सफलता दाबी गर्दैछन्। यदि उनले तेल उद्योगको नियन्त्रण पाएनन् भने राष्ट्रपति पछि हटेको देख्न गाह्रो छ। मेरो विचारमा, जे भए पनि अमेरिकी कम्पनीहरूले भेनेजुएलाको तेल उद्योग चलाउने अवस्था आउनेछ, जस्तो कि यो अमेरिकी संरक्षित क्षेत्र हो।
भेनेजुएलालाई आफ्नो तेल स्रोत अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दा भेनेजुएलाको समाजमा ठूलो वैमनस्यता उत्पन्न हुनेछ।
मानौँ त्यही हुन्छः काराकासले प्रतिरोध जारी राख्छ र आक्रमण हुन्छ। तपाईंलाई के हुन्छ जस्तो लाग्छ ?
मलाई लाग्छ यो सप्ताहन्तमा देखिएको कुराले संकेत गर्छ कि भेनेजुएलामा अमेरिकाका लागि स्थल आक्रमण सैन्य रूपमा त्यति गाह्रो नहुन सक्छ। भेनेजुएलाको सशस्त्र फौजले अमेरिकी फौजलाई प्रतिरोध गर्न वा वास्तविक खतरा सिर्जना गर्न सक्षम भएको प्रमाणित गरेन। तर देश कब्जा गर्न सजिलो हुन्छ भन्ने होइन। भेनेजुएलासँग ठूलो भूभाग, ठूलो जनसंख्या र धेरै सक्रिय अर्धसैनिक तथा आपराधिक समूहहरू छन्। यो सजिलै अराजकतामा फस्न सक्छ। तपाईं कल्पना गर्न सक्नुहुन्छ कि वाशिङ्टनले राज्यलाई ढालेपछि भेनेजुएलाको सेनाका तत्वहरूले देशमा पहिले नै सक्रिय कोलम्बियाली गोरिल्ला समूहहरूसँग मिलेर गोरिल्ला आन्दोलन गठन गर्छन्। यसले सजिलै गृहयुद्धजस्तो अवस्था निम्त्याउन सक्छ।
वाशिङ्टनको अभियानबारे भेनेजुएलावासीहरूको भावना कस्तो छ जस्तो लाग्छ ?
पहिलो, मलाई लाग्दैन कि अमेरिकाले अर्को देशमा गएर त्यसको नेतालाई अपहरण गर्नु, जतिसुकै दुष्ट नेता भए पनि, राम्रो परिणाम हो। यो राम्रो नीति रणनीति होइन। यसले देशहरूबीचको सम्बन्ध नियन्त्रण गर्ने आधारभूत नियमहरूलाई कमजोर बनाउँछ र विश्वलाई थप खतरनाक बनाउँछ।
त्यसो भन्दैमा, भेनेजुएलावासीहरूलाई मादुरो मन पर्दैनथ्यो, र अधिकांशलाई उनी गएको देखेर खुसी लागेको हुन सक्छ। हामीले पहिले नै उनको पदच्यूतको उत्सव मनाउने केही स्वतस्फूर्त संकेतहरू देखिसकेका छौँ। अहिले अवस्था धेरै तनावपूर्ण छ किनकि , मादुरो बाहिरिए, तर उनको शासन अझै सत्तामा छ, र मादुरोसँग वफादार समर्थकहरू छन् भन्ने कुरा सम्झनु महत्वपूर्ण छ। तर भेनेजुएलावासीहरूले भयानक संकट भोगेका छन्। देशले आफ्नो जीडीपीको करिब तीन चौथाइ गुमाएको छ। अस्सी लाख भेनेजुएलावासी भागेका छन्। त्यसैले मलाई लाग्छ अधिकांश भेनेजुएलावासी थाकेका छन् र बाटो खोजिरहेका छन्, र अत्यधिक बहुमतले यो अध्यायको अन्त्यलाई स्वागत गर्नेछन्।
भेनेजुएलाले लोकतन्त्रमा संक्रमण गर्न सम्भव छ ?
यो लोकतन्त्र भन्ने के बुझ्ने भन्नेमा निर्भर गर्छ। आर्थिक पुनरुत्थानको वाचा गर्ने कुनै पनि सरकारले भेनेजुएलाको निर्वाचन जित्न सक्छ भन्नेमा मलाई कुनै शंका छैन। र अब भेनेजुएलाले त्यस्तो पुनरुत्थान पाउने संसार छ। यदि राज्यले अमेरिकी समर्थन र प्रतिबन्ध हटाएर तेल उत्पादन फर्काउँछ भने भेनेजुएलाले केही वर्षसम्म उच्च, दोहोरो अंकको वृद्धि अनुभव गर्न सक्छ। मेरो अनुमान, जसले माचाडोका लागि काम गर्ने अन्य अर्थशास्त्रीहरूको पनि मेल खान्छ, भेनेजुएलाको प्रति व्यक्ति जीडीपी अमेरिकी डलरमा आउँदो दशकमा तेब्बर हुन सक्छ। त्यसैले यदि भेनेजुएलाको सरकारले अमेरिकासँग प्रतिबन्ध हटाउने र अर्बौँ डलर तेल उद्योग पुनरुत्थानमा लगाउने सम्झौता गर्छ भने सत्तामा रहेको जुनसुकै सरकारले स्वतन्त्र निर्वाचन सहजै जित्न सक्छ।
तर यसको अर्थ भेनेजुएला वास्तविक लोकतन्त्र बन्छ भन्ने होइन। अर्थतन्त्र राम्रो चलिरहेको कारणले जित्ने थाहा भए निर्वाचन गर्न सरकारका लागि सजिलो हुन्छ। वास्तविक लोकतन्त्रका लागि निर्वाचन केवल सत्ताधारीहरूलाई सुविधा हुँदा मात्र नहुने अवस्था चाहिन्छ—यो उच्च मापदण्ड हो। यसको अर्थ नागरिकको इच्छाअनुसार विपक्षी दलहरूबीच सत्ता हस्तान्तरण हुने र हुन जाने सरकार प्रणाली हो। र म यस्तो हुन्छ भन्नेमा आशावादी छैन। बरु, हामीले पाउने अवस्था यो हुनेछ कि सरकार, चाहे रोड्रिगेज वा माचाडो वा अर्को कुनै व्यक्तिले नेतृत्व गरे पनि, मूलतः अमेरिकाप्रति अधीनस्थ हुनेछ। अमेरिकाले सैन्य शक्तिद्वारा को सत्तामा छ भन्ने निर्धारण गर्नेछ।
भेनेजुएलाको विपक्षबारे कुरा गरौँ। विभिन्न विपक्षी नेताहरूले अमेरिकालाई हस्तक्षेप गर्न अनुरोध गरेका थिए। अब त्यही भएको छ। तर तपाईंले पहिले उल्लेख गरेझैँ ट्रम्पले भने कि माचाडोलाई नेतृत्व गर्न आवश्यक सम्मान छैन। उनको र उनको आन्दोलनका विकल्पहरू के छन् ?
माचाडो वास्तवमा अमेरिकामा धेरै निर्भर थिइन्। उनीसँग सत्ता लिन तयार विद्रोही फौज वा लडाकुहरूको समर्थन थिएन। उनलाई भेनेजुएलावासीहरूको बहुमतको समर्थन थियो, तर त्यो समर्थन मुख्य रूपमा मादुरोविरोध थियो। उनीसँग वाशिङ्टन थियो, र ट्रम्पले उनको खुट्टामुनिको गलैँचा तानेका छन्।
अब उनीहरूले मादुरोको शासन अझै नियन्त्रणमा रहेको र अमेरिकासँग तेल सम्झौता गरेको प्रणाली पाउन सक्छन्। यो उनीहरूले चाहेको कुराको ठीक विपरीत हो।
अब माचाडो र विपक्षले भेनेजुएलामा अर्को निर्वाचन हुँदा तयारी गर्न प्रयास गर्न सक्छन्। तर यो लामो समय लाग्न सक्छ, किनकि फेरि ट्रम्पले निर्वाचनको कुरा गरेका थिएनन्। उनी देश स्थिर नहुञ्जेल अमेरिकाले चलाउने कुरा गर्दैथिए। त्यसैले भेनेजुएलाको संविधानको सम्मान र निर्वाचन परिणामको सम्मान वा नयाँ निर्वाचन गरेर प्रतिस्पर्धा गर्न निरन्तर वकालत गर्नुबाहेक माचाडो र विपक्षसँग धेरै विकल्प छैनन्।
वाशिङ्टनको कार्यहरूबारे अन्य देशहरूको प्रतिक्रिया कस्तो हुन्छ जस्तो लाग्छ ?
हामीले केही बयानहरू देखिसकेका छौँ, र ती पूर्वानुमानयोग्य वैचारिक रेखामा छन्। दक्षिणपन्थी र मध्यम दक्षिणपन्थी नेताहरूबाट समर्थनका अभिव्यक्तिहरू देखिएका छन्। बामपन्थी सरकारहरूबाट जस्तै क्युबाबाट स्पष्ट निन्दा भएको छ। तर मध्यम बाम सरकारहरूले पनि अमेरिकी कार्यहरूको निन्दा गरेका छन्, जस्तै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र बहिर्गमन चिलीका राष्ट्रपति गाब्रियेल बोरिकले—जबकि बोरिक मादुरोका आलोचक थिए। यो आक्रमण आत्मनिर्णयको आधारभूत विचारविरुद्ध यति बलियो छ कि यसले ठूलो अस्वीकार उत्पन्न गर्नेछ।
त्यसो भन्दैमा, क्षेत्र र विश्वका नेताहरू जान्दछन् कि ट्रम्पलाई रिस उठाउने कुरामा सावधान हुनुपर्छ। उनीहरू आफ्ना समस्या समाधान गर्दैछन्, जसमा अमेरिकासँगका आफ्ना द्विपक्षीय समस्या पनि छन्। उनीहरू जान्दछन् कि यदि ट्रम्पको नराम्रो पक्षमा परियो भने वाशिङ्टनले तपाईंमाथि महसुल लगाउन सक्छ वा तपाईंले काम गर्दै गरेको व्यापार सम्झौता काट्न सक्छ। त्यसैले हामीले युरोपेली संघ र केही युरोपेली सरकारहरूबाट बिहान प्राप्त जस्तै मधुर र कूटनीतिक भाषामा व्यक्त प्रतिक्रियाहरू पनि पाउनेछौँ।
अब मादुरो गएपछि भेनेजुएलालाई मद्दत गर्न अमेरिकाले के गर्नुपर्छ जस्तो लाग्छ ? आशावादी हुन कुनै कारण छ ?
ट्रम्पले विपक्ष अहिले देश चलाउन सक्दैन भन्नेमा सावधानीको तत्व छ। माचाडो र उनका सहयोगीहरूले भेनेजुएलाको सेना र राजनीतिक नेतृत्वको लगभग सबैलाई जेल हाल्ने वकालत गरेका छन्। त्यसैले यदि ट्रम्पले माचाडोलाई मात्र स्थापना गरे भने जोखिम बढ्न् र अराजकता हुनेछ। यो गृहयुद्धको बाटो पनि हुन सक्छ, किनकि पदच्यूत सैन्य अधिकारीहरू जेल जाने जोखिमभन्दा सरकारविरुद्ध लड्नेछन्।
बल्कि, मेलै फरेन अफेयर्स लेखमा तर्क गरेझैँ, अमेरिकाले नयाँ नेता ‘रोड्रिगेजे र विपक्षबीच कुनै सम्झौता गराउनुपर्छ जसले सत्ता बाँडफाँट सम्झौता निम्त्याओस्, जहाँ उनीहरू सहअस्तित्वका संस्थाहरू निर्माण गरुन । ट्रम्पले पत्रकार सम्मेलनमा उचित संक्रमण हुनुभन्दा पहिले समयको आवश्यकता हुने संकेत गरे। र मलाई लाग्छ यसमा सत्यको केन्द्र छ, अर्थात् चाँडै नयाँ निर्वाचन गर्दा समस्या समाधानभन्दा बढी सिर्जना गर्न सक्छ। यदि रोड्रिगेज र अमेरिकी सरकारले आउँदो महिनाहरूमा प्रतिस्पर्धा नियमन गर्ने र निर्वाचन हार्नेहरूलाई सुरक्षा दिने प्रणाली निर्माण गर्छन् भने भेनेजुएलामा दिगो लोकतान्त्रिक संक्रमणका लागि धेरै बलियो आधार हुनेछ।
तर यो सकारात्मक परिणाम सैन्य कार्यको परिणामस्वरूप विरलै हुन्छ। बाह्य राज्य निर्माणले सामान्यतया अस्थिरता निम्त्याउँछ। र ट्रम्पले यो आक्रमणलाई लोकतन्त्रको वरिपरि नभई तेलको वरिपरि प्रस्तुत गर्दैछन्। यो गम्भीर गल्ती हो। भेनेजुएलालाई आफ्नो तेल स्रोत अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दा भेनेजुएलाको समाजमा ठूलो वैमनस्यता उत्पन्न हुनेछ। यसले भेनेजुएलाको विपक्षलाई पनि निराश बनाउन सक्छ—विशेष गरी यदि वाशिङ्टनले रोड्रिगेजसँग साझेदारी गर्छ र देशभित्र कुनै राजनीतिक सुधारका लागि दबाब दिँदैन भने। विपक्षले भेनेजुएलाका तानाशाहहरूलाई सत्ताबाट हटाउने र भेनेजुएलावासीहरूका लागि स्वतन्त्रता र स्वायत्तता प्राप्त गर्ने आशा गरेको थियो। अब उनीहरूले मादुरोको शासन अझै नियन्त्रणमा रहेको र अमेरिकासँग तेल सम्झौता गरेको प्रणाली पाउन सक्छन्। यो उनीहरूले चाहेको कुराको ठीक विपरीत हो।
प्रतिक्रिया