काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन्। आयोगको टोली गुण्डु पुगेर ओलीबाट लिखित ‘स्टेटमेन्ट’ संकलन गरी फर्किएको आयोगसम्बद्ध स्रोतले जनाएको छ।
आयोगले यसअघि ओलीलाई पत्र पठाएको थियो। पत्र प्राप्त भएपछि ओलीले बयान दिन सहमति जनाएका थिए। त्यसपछि आयोगको टोली पत्रसहित ओलीलाई भेट्न गएको र लिखित जवाफ लिएर फर्किएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार, ओलीले मौखिक बयान दिन अस्वीकार गर्दै आफ्ना धारणा र जवाफ लिखित रूपमा मात्रै पेस गरेका हुन्। आयोगको टोली ओली निकटका व्यक्तिहरूको समन्वयमा गुण्डु पुगेको बताइएको छ।
यसअघि आयोगको वैधतामाथि प्रश्न उठाउँदै ओलीले सिंहदरबार पुगेर बयान दिन अस्वीकार गरेका थिए। तर पछिल्लो समय आफ्नो अडान परिवर्तन गर्दै आयोगको टोली गुण्डु आएमा बयान दिने संकेत दिएका थिए।
आयोगका पदाधिकारीहरू बयानको विवरण, सोधिएका प्रश्न तथा जवाफबारे थप खुलाउन चाहँदैनन्। स्रोतका अनुसार, आयोगले संकलित बयान र प्रमाणका आधारमा ६० भन्दा बढी प्रश्नहरू तयार पारेको थियो। ओलीले ती प्रश्नमै केन्द्रित रहेर लिखित जवाफ पेस गरेको बुझिएको छ।
भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको हो। आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि बयान लिइसकेको छ। लेखकले बयानमा आन्दोलनका क्रममा गोली चलाउन आदेश नदिएको दाबी गरेका थिए।
पटक–पटक आयोगमा नजाने बताएका ओलीले अन्ततः आयोगसमक्ष लिखित बयान बुझाएका हुन्।
प्रतिक्रिया