मदुरो र उनकी श्रीमती को हुन् ? अमेरिकाले किन ‘पक्राउ’ गर्यो ? (बुँदागत)


काठमाडौं १९ पुस । लामो समयदेखिको चेतावनीपछि अमेरिकाले शनिबार बिहान भेनेजुएलामा सैन्य आक्रमण गरेको दाबी गरेको छ। स्थानीय समयअनुसार बिहान करिब २ बजे राजधानी काराकाससहित चार स्थानमा आक्रमण भएको बताइएको छ।

१. आक्रमण र पक्राउ
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै अमेरिकी सेनाले भेनेजुएलामा “सफल सैन्य कारबाही” गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेर देशबाहिर निकालेको दाबी गरे।
तर आक्रमणपछि मदुरो कहाँ छन् भन्ने विषयमा अझै स्पष्ट जानकारी आएको छैन। न्युयोर्क टाइम्स ले आक्रमणपछि मदुरो सार्वजनिक रूपमा नदेखिएको जनाएको छ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले भने मदुरोकै निर्देशनमा देशमा संकटकाल घोषणा लगाएर र सेना परिचालन गरिएको दाबी गरेका छन्।
अमेरिकी अधिकारीहरूले भने मदुरो र फ्लोरेसलाई अमेरिकी विशेष सैन्य टोली डेल्टा फोर्स ले पक्राउ गरेको दाबी अनौपचारिक रूपमा गरेका छन्।
२. निकोलस मदुरोः श्रमिकदेखि राष्ट्रपति सम्म
निकोलस मदुरो मोरोसको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको हो। उनी मध्यम वर्गीय परिवारमा हुर्किए। औपचारिक उच्च शिक्षा भन्दा पनि श्रमिक जीवनले उनलाई राजनीतिक रूपमा ढालेको मानिन्छ।
काराकास मेट्रोमा बस चालक का रूपमा काम गर्दा उनी ट्रेड युनियन आन्दोलन मा सक्रिय भएका थिए ।
यही श्रमिक पृष्ठभूमिले उनलाई सामाजिक असमानता, राज्यको भूमिका र विदेशी प्रभुत्वबारे राजनीतिक चेतना दिएको देखिन्छ।
१९९० को दशकमा ह्युगो चाभेजको उदाएपछि मदुरो उनको निकट सहयोगी बनेका हुन् ।
चाभेजको साम्राज्यवाद–विरोधी, अमेरिका–विरोधी र समाजवादी विचारधाराले मदुरोको राजनीतिक जीवनको दिशा निर्धारण गर्‍यो। यही धारबाट उनी ‘बोलिभेरियन क्रान्ति’ का प्रमुख अनुयायी बने।
३. चाभेजपछि सत्ता र वैधताको विवाद
ह्युगो चाभेजको सन् २०१३ मा क्यान्सरका कारण निधन भएपछि मदुरो राष्ट्रपति बनेका हुन् । तर उनीसँग चाभेजको जस्तो बलियो जनाधार कायम हुन सकेन ।
सन् २०१७ मा विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभालाई छलेर उनले आफ्नो कार्यकाल विस्तार गरेका थिए ।
यसविरुद्ध काराकाससहित देशभर हप्तौँसम्म आन्दोलन भयो ।
सन् २०१८ र २०२४ का निर्वाचनहरूलाई विपक्षी दल र अन्तर्राष्ट्रिय समुदायले अविश्वसनीय र धाँधलीपूर्ण भन्दै अस्वीकार गर्दै आएका थिए ।
यही कारण मदुरोको वैधतामाथि अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठ्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई पटक–पटक “अवैध राष्ट्रपति” भन्दै आएका थिए ।
४.अमेरिका किन मदुरोको निशानामा ?
अमेरिकासँग मदुरोको टकराव केवल लोकतन्त्रको प्रश्न मात्र होइन, भूराजनीति, तेल, र प्रभुत्वको संघर्ष सँग जोडिएको छ। भेनेजुएलाको तेल उद्योगमा अमेरिकी प्रभाव घटाउने क्युबा, रुस, चीनजस्ता देशसँग सम्बन्ध बलियो बनाउने र अमेरिकी प्रतिबन्ध र दबाबको खुलेर विरोध गर्ने जस्ता अनेक कारणले मदुरो अमेरिका विरोधी राजनीतिक धारको प्रतीक बने।
सन् २०२० मा ट्रम्प प्रशासनले मदुरोमाथि ‘नार्को–आतंकवाद’ को अभियोग दर्ता गर्‍यो।
अमेरिकी न्याय मन्त्रालयका अनुसार मदुरो र उनका सहयोगीहरूले कोलम्बियाली विद्रोही समूह सँग मिलेर अमेरिकामा ठूलो परिमाणमा कोकिन तस्करी गरेको आरोप लगाउँदै आएको छ।
५.‘म्याक्सिमम प्रेसर’ र सत्ता कायम
सन् २०१९ मा ट्रम्पले ‘म्याक्सिमम प्रेसर’ नीति अपनाउँदै, कडा आर्थिक प्रतिबन्ध र कूटनीतिक अलगावको रणनीति अपनाएका थिए ।
विपक्षी नेता हुआन ग्वाइदो लाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएर ट्रम्पले धम्काइरहेका थिए । तर यी सबै बाबजुद मदुरो सत्ता टिकाउन सफल भए।
मदुरो स्वयंले भनेका थिए—
“उनीहरूले हामीलाई क्रान्तिको बाटोबाट कहिल्यै हटाउन सक्ने छैनन्।”
६. सिलिया फ्लोरेसः ‘फर्स्ट कम्ब्याटेन्ट’
मदुरोकी पत्नी सिलिया फ्लोरेस भेनेजुएलाको सत्ता संरचनामा अत्यन्त प्रभावशाली पात्र हुन्। मदुरो उनलाई ‘फर्स्ट लेडी’ होइन, ‘फर्स्ट कम्ब्याटेन्ट’ भन्छन्।
उनी सन् १९९० को दशकमा ह्युगो चाभेजकी प्रमुख कानुनी सल्लाहकार थिइन्।
चाभेज राष्ट्रपति बनेपछि उनी सांसद र पार्टी नेतृत्वमा उक्लिइन्।
२०१३ मा मदुरोसँग विवाहपछि उनी सत्ताको ‘इनर सर्कल’ को मुख्य सदस्य बनिन्।
अमेरिकी ट्रेजरी विभागले सन् २०१८ मा फ्लोरेसलाई भ्रष्टाचार र सैन्य तानाशाहीलाई सहज बनाएको आरोपमा प्रतिबन्ध लगाएको थियो।
उनका परिवारका सदस्यहरूमाथि पनि आर्थिक र यात्रा प्रतिबन्ध लगाइएको छ।
७. किन सत्ता छोड्न चाहँदैनन् ?
विश्लेषकहरूका अनुसार मदुरो र उनका निकट सहयोगीहरू सत्ता छोड्न नचाहनुको मुख्य कारणहरुमा अमेरिकामा दर्ता भएका आपराधिक अभियोग, अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सत्ता बाहिरिएपछि हुने कानुनी कारबाहीको डर रहेको छ ।
यही डरले उनीहरूलाई सत्तामा टिकिरहन प्रेरित गरेको अमेरिकी अधिकारीहरूको तर्क रहँदै आएको थियो ।
ट्रम्पको यसखालेक कारबाहीले विश्व भूराजनीति र कुटनीतिक मामिला तथा सार्वभौमसत्ताका बारेमा समेत नयाँ ढंगले बहस सिर्जना गर्ने निश्चित छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति