अमेरिकाले भेनेजुएलमाथि बमवारी गर्दै मादुरोलाई पक्राउ गरेपछि विश्वभरि तरङ्गः ट्रम्पको ‘असीमित शक्ति’ प्रदर्शन

स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि अस्वीकार्य अतिक्रमण : रुस

काठमाडौं, १९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिकी भूमिमा ल्याएको घोषणा गरेपछि विश्व राजनीतिमा भूकम्प गएको छ। यो घटनालाई ट्रम्प प्रशासनको सबैभन्दा ठूलो र जोखिमपूर्ण सैन्य कारबाही मानिएको छ।
अमेरिकी न्यायमन्त्री बोन्डीको कडा चेतावनी

अमेरिकी महान्यायाधिवक्ता (अटर्नी जनरल) पाम बोन्डीले सामाजिक सञ्जालमा लेखेकी छन् ः
“निकोलस मादुरो चाँडै नै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा अमेरिकी न्यायको पूर्ण क्रोधको सामना गर्नेछन्।”
उनले सन् २०२० मा न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतले लगाएको अभियोगलाई उद्धृत गर्दै मादुरोलाई “नार्को–टेररिज्म षड्यन्त्र, कोकेन आयात षड्यन्त्र, मेसिनगन र विनाशकारी हतियार राख्ने षड्यन्त्र” को आरोप लगाइएको उल्लेख गरेकी छन्। बोन्डीले राष्ट्रपति ट्रम्प र अमेरिकी सेनालाई “यी दुई अन्तर्राष्ट्रिय लागुऔषध तस्करलाई पक्राउ गर्ने अद्भुत र अत्यन्त सफल मिसन” का लागि धन्यवाद दिएकी छन्।
रुसको कडा प्रतिक्रिया
रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छः
“अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई जबर्जस्ती देशबाहिर लगेको खबरले हामी अत्यन्त चिन्तित छौं। यदि यो सत्य हो भने यो स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि अस्वीकार्य अतिक्रमण हो।”
रुसले “तत्काल स्पष्टिकरण” मागेको छ र अमेरिकी कारबाहीको कुनै पनि बहाना “अस्वीकार्य” भएको बताएको छ।
युरोपेली नेताहरूको प्रतिक्रिया

युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासः अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेको र काराकासस्थित ईयू राजदूतसँग सम्पर्कमा रहेको बताइन्। उनले मादुरो “अवैध” भएको ईयूको अडान दोहोर्‍याइन् तर “अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान” गर्नुपर्नेमा जोड दिइन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजः “घटना नजिकबाट हेरिरहेका छौं, स्थिति शान्त पार्न आह्वान गर्छौं।”
बेल्जियम, नेदरल्यान्ड्स, पोल्यान्डः आफ्ना नागरिकको सुरक्षा जाँचिरहेको र कूटनीतिक नियोग पूर्ण सक्रिय रहेको बताएका छन्।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोः अमेरिकी कारबाहीको “कडा निन्दा” गर्दै यसलाई “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष धम्की” भनेका छन्।

ट्रम्पको नयाँ स्तरको ‘असीमित वैश्विक शक्ति’ प्रदर्शन
सीएनएनका वरिष्ठ अन्तर्राष्ट्रिय संवाददाता निक प्याटन वाल्श लेख्छः
“रातको अन्धकारमा एक देशको राजधानीबाट सत्तासीन राष्ट्रपतिलाई अपहरण गर्नुभन्दा खुला शक्ति प्रदर्शन अर्को हुँदैन। ट्रम्पले ७४ शब्दको सामाजिक सञ्जाल पोस्टबाट देखाइदिए– उनी परम्परा, परिणाम र अन्तर्राष्ट्रिय कानुनको प्रवाह नगरी जुनसुकै बेला निर्णायक र अचानक कारबाही गर्न सक्छन्।”
मादुरोमाथि ५० मिलियन डलरको इनाम थियो र उनी “फरार अपराधी” को सूचीमा थिए, तर उनी सत्तासीन राष्ट्राध्यक्ष पनि थिए। यो कारबाहीलाई धेरैले “राजनीतिक अपहरण” को रूपमा हेरेका छन्।
पक्राउको तरिका र तयारी

अमेरिकी सेनाले महिनौंदेखि क्यारिबियन क्षेत्रमा १५,००० सैनिक, विमानवाहक जहाज यूएसएस जेराल्ड आर फोर्ड, ड्रोन र विशेष अपरेसन टोली तैनाथ गरेको थियो।
काराकास र आसपासका सैन्य अड्डामा ठूलो हवाई आक्रमण भएको थियो।
मादुरोले पछिल्लो समय आफ्नो सुरक्षा कडा पारेका थिए– सुत्ने ठाउँ बारम्बार फेरिरहेका थिए र क्युबाली अङ्गरक्षकको सङ्ख्या बढाएका थिए।

यो घटनाले ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको नयाँ युगको सुरुवात भएको विश्लेषकहरूले बताएका छन्। विश्व समुदायले “शान्ति र संयम” को आह्वान गरिरहेको छ भने भेनेजुएलामा अझै अन्योल र त्रासको वातावरण छ।
विभिन्न अन्तराष्ट्रिय सन्चारमाध्यमको सहयोगमा ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति