काठमाडौं, १९ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्। ट्रम्पले यो दाबी शनिबार बिहान ट्रुथ सोसलमा पोस्ट गर्दै भेनेजुएलामाथि ‘ठूलो स्तरको आक्रमण’ सफलतापूर्वक गरेको बताएका हुन्।
ट्रम्पको पोस्टमा भनिएको छ : “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र उसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो स्तरको आक्रमण सफलतापूर्वक गरेको छ। मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको छ। यो अपरेसन अमेरिकी कानुन प्रवर्तन निकायसँगको सहकार्यमा गरिएको हो।”
यो आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रमा विस्फोटहरू भएको र धुवाँको मुस्लो उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। भेनेजुएलाको सरकारले यो घटनालाई ‘सैनिक आक्रमण’ भन्दै राष्ट्रिय आपतकाल घोषणा गरेको छ।
यता, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरो र फर्स्ट लेडी सिलिया फ्लोरेसको अवस्था अज्ञात रहेको बताउँदै अमेरिकासँग ‘तत्काल जीवित रहेको प्रमाण (प्रुफ अफ लाइफ)’ मागेकी छन्। राज्य सञ्चालित टेलिभिजनमा उनले भनेकी छन् : “सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडीको बारेमा कुनै जानकारी छैन। हामी जीवित रहेको तत्काल प्रमाण माग्छौं।”
अमेरिकाले मादुरोलाई लागुऔषध तस्करी र नार्को–टेररिजमको आरोपमा लामो समयदेखि खोजी गरेको थियो। सन् २०२० मा अमेरिकी अदालतले उनलाई अभियोग लगाएको थियो र पक्राउका लागि ५० मिलियन डलरको इनाम घोषणा गरिएको थियो।
यो घटनाले अमेरिका–भेनेजुएला सम्बन्धमा गम्भीर तनाव उत्पन्न गरेको छ। अन्तर्राष्ट्रिय समुदायबाट पनि विभिन्न प्रतिक्रिया आइरहेका छन्। थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया