शाह र ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं, १९ पुस । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।

‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेखेका छन्, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’उनले अघि लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो,’ कलाकार शाहले भनेका छन्, ‘हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं । देशभन्दा ठूलो केही हुँदैन ।’शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत् जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना स्पष्ट रूपमा भने पनि रास्वपाले देशव्यापी चुनावी अभियान आवश्यककता महसुस गरेर समानुपातिक प्रणालीमै अघि बढ्नुपर्ने भनेपछि उम्मेदवारी दर्ता गरेको प्रष्टीकरण पनि दिएका छन् ।‘तर, त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो । सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,’ शाहको भनाइ छ, ‘देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु । तर, जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’

यसैवीच उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै ढकालले विदेशमा अध्ययनपछि उतै प्रशस्त अवसर भए पनि स्वदेशमै उद्यम गरेर देशको समृद्धिमा योगदान दिने अठोटका साथ नेपाल फर्किएको उल्लेख गरेका छन्। स्वदेशमै रोजगारी सिर्जना गर्ने र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा इमान्दार प्रयास गर्नुपर्छ भन्ने प्रेरणा आफ्ना पिता, चर्चित उद्योगपति चन्द्रप्रसाद ढकालबाट पाएको उनको भनाइ छ।ढकालले हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा आफू सक्रिय रहेको उल्लेख गर्दै वार्षिक पाँच लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिनु मुलुकका लागि चिन्ताजनक तथ्य भएको बताएका छन्। विदेशमा आकर्षक अवसर त्यागेर स्वदेश फर्किने युवाहरूको प्रयासमा साथ र सहयोग गर्ने आफ्नो प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन्।

युवाको सामूहिक नेतृत्व, नवीन सोच र ऊर्जाबाट सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण आवश्यक रहेको बताएका छन्। यही परिवेशमा आफूलाई समानुपातिक सूचीमा समावेश गरिएकोप्रति पार्टी नेतृत्वप्रति आभार प्रकट गरे पनि संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश नाम फिर्ता लिने निर्णय गरेको स्पष्ट पारेका छन्।उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी आवश्यक परेमा सधैँ तत्पर रहने प्रतिबद्धता पनि जनाएका छन्। साथै, आफू कुनै व्यावसायिक घरानाको सन्तान भएकै कारण होइन, आफ्नै शिक्षा, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्दै नवउद्यम र नवीन सोचमार्फत योगदान गर्न चाहेको स्पष्ट पारेका छन्।परम्परागत व्यवसायको निरन्तरताभन्दा पनि नविनता, चुनौती र नयाँ सम्भावनाका क्षेत्रमा आफूलाई खार्ने प्रयास गरिरहेको उल्लेख गर्दै ढकालले त्यो प्रयास नेपाली युवाका लागि उदाहरणीय बन्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति