स्विट्जरल्याण्डको रिसोर्टमा आगलागीमा परी मर्नेको संख्या ४० पुग्यो, १ सय १५ घाइते

काठमाडौँ, १८ पुस । स्विट्जरल्यान्डको क्राँस मोन्टानास्थित स्विस अल्प्सको मुटुमा रहेको प्रसिद्ध स्की रिसोर्टमा आगलागी हुँदा मर्नेको संख्या ४० पुगेको छ भने १ सय १५ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भिर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।मृत्यु हुनेमा विदेशी पर्यटकहरु पनि रहेका छन्।

तर सबैको विवरण भने सार्वजनिक गरिएको छैन।नयाँ वर्षको उल्लास मनाइरहेकाबेला ‘ले कन्स्टेलेसन बार’मा स्थानीय समय अनुसार राति १ः३० बजे आगालागी भएको थियो। घटनाको कारण अनुसन्धान भइरहेको भएपनि अधिकारीहरुले यो कुनै आक्रमण नभइ दुर्घटना भएको दाबी गरेका छन्।नयाँ वर्षको पूर्वसन्ध्यामा खुसीयाली मनाइरहेका मानिसहरू भेला भएको स्थानमा अचानक आगालगी भएपछि भागदौड मच्चिएको थियो।सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा उत्सव भइरहेको उक्त बारमा भीषण आगलागी भएको देखिएको छ। लगत्तै प्रहरी, दमकल र एम्बुलेन्सका टोलीहरू उद्धारका लागि घटनास्थल पुगेका थिए।वालेस क्यान्टन प्रहरीका प्रवक्ता गाएतान लाथियोंले घटनामा ठूलो क्षति भएको जानकारी दिए।

अझैपनि घटनाको वास्तविक कारण स्पष्ट नभएको बताइएको छ।राजधानी बर्नबाट करिब दुई घण्टाको दुरीमा रहेको क्राँस मोन्टाना विशेषगरी बेलायती पर्यटकहरूका बीचमा निकै लोकप्रिय मानिन्छ। ८७ माइल लामो स्की मार्ग भएको यो सहर अत्यन्तै महँगो र विलासी पर्यटकीय गन्तव्य हो।जनवरीको अन्त्यतिर यहाँ प्रतिष्ठित ‘एफआईएस वर्ल्ड कप’ जस्तो ठूलो गति स्कीइङ प्रतियोगिता आयोजना हुने तयारी थियो। नयाँ वर्ष र खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा भएको यस घटनाले स्थानीय र पर्यटक दुवैलाई स्तब्ध बनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति