कांग्रेसमा परिवारवादः समानुपातिक सूचीमा श्रीमती, छोरा–छोरी, ससुरा, भाञ्जीदेखि पीएसम्म

काठमाडौं १६ पुस । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको बन्दसूचीमा नेताहरूका परिवारका सदस्यहरूको बाक्लो उपस्थिति देखिएको छ। मंगलबार निर्वाचन आयोगमा बुझाइएको ११० जनाको सूचीमा श्रीमती, छोरा–छोरी, बहिनी, ससुरा, भाञ्जी र व्यक्तिगत सहयोगी (पीए) समेत परेका छन्। यसले पार्टीभित्र परिवारवाद हावी भएको भन्दै व्यापक आलोचना भएको छ।
कांग्रेसका महामन्त्री गगन थापाका ससुरा तथा पार्टीका वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम समानुपातिक सूचीको ५३ औँ नम्बरमा छ। केसी स्वयं पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन्। सूचीमा केसीको नाम राख्न महामन्त्री थापा र केसी आफैंले जोडबल गरेको स्रोतहरू बताउँछन्।
केसीको नाम सूचीमा परेपछि पार्टीभित्र र बाहिर आलोचना चर्किएसँगै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। उनले लेखेका छन्, “म स्पष्ट पार्न चाहन्छुः यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो।” थापाले केसीको नाम आफ्नो प्रयासमा नभई पार्टीको सामूहिक निर्णयबाट परेको दाबी गरेका छन्।
यस्तै, पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीले आफ्नी श्रीमती रिना उप्रेती र बहिनी गोमा केसीको नाम सूचीमा राख्न सफल भएका छन्। उप्रेतीको नाम सूचीको १३ औँ नम्बरमा छ भने गोमा केसीको १५ औँ नम्बरमा। रिना उप्रेती पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति हुन् भने गोमा केसी ओखलढुंगाकी पूर्व जिल्ला सभापति।
वर्तमान राष्ट्रपति तथा कांग्रेसका पूर्व कार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नी छोरी संज्ञा पोखरेल पौडेललाई दबाब दिएर सूचीमा समावेश गराएका छन्। संज्ञाको नाम सूचीको ६२ औँ स्थानमा छ।
प्रथम राष्ट्रपति तथा कांग्रेसका पूर्व महामन्त्री डा. रामवरण यादवले पनि आफ्ना छोरा डा. चन्द्रमोहन यादवको नाम सूचीमा राख्न सफल भएका छन्। चन्द्रमोहन पार्टीका केन्द्रीय सदस्यसमेत हुन्।
पूर्व उपसभापति विमलेन्द्र निधिले आफ्नी भाञ्जी निनु कर्णको नाम सूचीको २५ औँ नम्बरमा राखेका छन्। यसले मधेस प्रदेशमा असन्तुष्टि बढाएको छ।
कांग्रेस जनकपुरका नेता जीवराम चौधरीले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै असन्तुष्टि पोखेका छन्। उनले लेखेका छन्, “तपाईंसँगै जेल–नेल बसेका, लाठी खाएका, प्रजातन्त्रका लागि जीवन अर्पण गरेका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, युवराज खाती, राज किशोर सिंहजस्ता योद्धाहरूले के पाए ? उनीहरूका सन्तानले के पाए ? योग्यता र बलिदानभन्दा नाता–सम्बन्ध ठूलो बन्नु पीडादायक छ।” चौधरीले निनु कर्णलाई व्यक्तिगत बधाई दिँदै यो प्रणालीको समस्या भएको बताएका छन्।
यसबाहेक, पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्ना व्यक्तिगत सहयोगी (पीए) टेकबहादुर विकको नाम सूचीको १०९ औँ नम्बरमा राख्न भ्याएका छन्।
कांग्रेसले यसअघि समानुपातिक सूचीमा पुराना र अवसर पाइसकेका नेतालाई नराख्ने नीति लिएको दाबी गरेको थियो। तर सूचीमा नेताका परिवारका सदस्यहरूको प्राथमिकता देखिएपछि पार्टीभित्रै गुटगत रस्साकस्सी र परिवारवादको आरोप लागेको छ। सूची तयारीमा संस्थापन र इतर पक्षबीच लामो विवाद भएपछि मध्यरातमा मात्र आयोगमा बुझाइएको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिक प्रणालीको मूल मर्म समावेशी र योग्यता–योगदानलाई प्राथमिकता दिनु हो। तर नेताहरूले परिवार र निकटस्थलाई प्राथमिकता दिँदा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनेको र युवा तथा योग्य कार्यकर्तामा निराशा छाएको छ।
कांग्रेसले सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको दाबी गरे पनि परिवारका सदस्यहरूको सूचीले यो दाबीलाई चुनौती दिएको छ। अब निर्वाचन आयोगले सूची सच्याउन समय दिएको छ, तर ठूलो परिवर्तन हुने सम्भावना कम देखिन्छ।
यो घटनाले नेपाली राजनीतिमा व्याप्त परिवारवाद र गुटबन्दीको पर्दाफास गरेको छ। कांग्रेसका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा ३परिवारवादबिरुद्धकांग्रेस जस्ता ह्यासट्यागमार्फत असन्तुष्टि व्यक्त गरिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति