काठमाडौँ, १६ पुस । उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफूसँग जोडेर फैलाइएका हल्ला र आरोपहरूको खण्डन गरेका छन्।
घिसिङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूसँग नाता जोडेर गरिएका टिप्पणीहरू असत्य, भ्रामक र नियोजित भएको बताएका हुन्।
उनले भनेका छन्, “समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा उज्यालो नेपाल पार्टीसँगको एकीकरणपछि केही व्यक्तिहरूको नाम समावेश भएका थिए। त्यसपछि सामाजिक सञ्जाल र केही मिडियामा ती व्यक्तिहरूलाई घिसिङको नातेदार भन्दै टिप्पणीहरू भएका थिए।
घिसिङले सूची पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णयबाट तयार भएको दाबी गर्दै कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नबनेको प्रष्ट पारेका छन्। उनले थपेका छन्, “म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु। त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्।”
राजनीतिमा असहमति हुन सक्ने तर झूट र भ्रम फैलाएर बदनाम गराउने प्रयास आपत्तिजनक भएको उनको भनाइ छ।
साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता पनि घिसिङले व्यक्त गरेका छन्।
अन्तमा उनले सबैमा अनुरोध गरेका छन्, “म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।”
घिसिङको यो स्पष्टिकरणले रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालको कोटाबाट परेका उम्मेदवारहरूमाथि उठेका नातावादका प्रश्नहरू अझ बढी चर्चामा आएका छन् । यद्यपि, समानुपातिक सूचीबारे पार्टीहरूभित्र र बाहिर चलिरहेको बहस अझै जारी छ।
कुलमान घिसिङ भन्छन्ः ‘भान्जा र ससुरा’ भन्नेहरू मेरो नातेदार होइनन्
प्रतिक्रिया