काठमाडौं १४ पुस– वैकल्पिक शक्तिको बृहत् एकतामा देखिएको अवरोधपछि फेरि नयाँ मोड आएको छ। ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग त्रिपक्षीय वार्तामा सहभागी भएका छन्।
स्रोतहरूका अनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ र सहमति नजिक पुगेको संकेत देखिएको छ।
कुलमान बौद्धस्थित अन्तरा होटल मा उज्यालो नेपाल पार्टीका नेताहरूसँग छलफलमा थिए। त्यहाँबाट जेनजीका काका अगुवा सुदन गुरुङ, जेम्स कार्की र ओजस्वी थापा (द काउन्सिल अफ जेनजीका सदस्यहरू) ले आफ्नै गाडीमा कुलमानलाई वार्तास्थल पुर्याएका थिए।
यसअघि सुदन गुरुङ रास्वपा कार्यालयमै पुगेर केन्द्रीय समिति बैठकअघि कुलमानलाई मिलाएर ल्याउन दबाब दिएका थिए।
जेनजी अगुवामध्ये एकले भनेः “हामीले गएर उहाँलाई अनुरोध गर्यौं। त्यसपछि गाडीमै बोकेर वार्तास्थलसम्म ल्यायौं। बाटोभरि कुलमानज्यूको मुड हेर्दा उहाँ अब रास्वपासँग मिल्न एकदम सकारात्मक हुनुहुन्छ। अहिले वार्ता जारी छ। बालेन, रवि र कुलमानबीच त्रिपक्षीय वार्ता चलिरहेको छ।”उनले थपे “वार्ता सकारात्मक भइरहेको छ र सहमति नजिक छ।”
समय घर्किँदै, अन्तिम प्रयास
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने आज (पुस १४) अन्तिम दिन हो। यसैबीच रवि र बालेनले कुलमानलाई फकाउन अन्तिम प्रयासस्वरूप यो वार्ता आयोजना गरेका हुन्। यसअघि भागबन्डा (१५ प्रतिशत बनाम ३० प्रतिशत) मा कुरा नमिलेपछि वार्ता अवरुद्ध बनेको थियो।
उता, कुलमान वार्तामा व्यस्त हुँदा उज्यालो नेपाल पार्टीका नेताहरू निर्वाचन आयोग मा पुगेका छन्। बन्दसूची पेस गर्ने निस्सा लिन उनीहरू आयोगमा छन्। निस्सा लिएपछि अबेरसम्म गरेर पनि सूची बुझाउन सकिने व्यवस्था छ। यसले उज्यालो नेपालले छुट्टै सूची बुझाउने तयारी गरेको संकेत गर्छ, तर वार्ता सफल भएमा यो परिवर्तन हुन सक्छ।
पार्टीबाट समानुपातिक उम्मेदवारको बन्दसूची टुंग्याउने भनेर आज बसेको रास्वपा बैठक बिनानिष्कर्ष सकिएको छ । आजै उज्यालो नेपालसँग फेरि वार्ता हुने भएपछि रास्वपाले निर्णय लिन सकेन ।
स्रोतका अनुसार बैठक करिब ३० मिनेटमै सकिएको थियो । बैठकमा कुलमान घिसिङलाई समेट्ने विषयमा सामान्य छलफल भएको स्रोतले बतायो ।
‘उहाँसँग अन्तिम पटक पहल गर्ने कुरा भयो, समानुपातिक टुंग्याउन सकिएन,’ स्रोतले भन्यो, ‘वार्ताको निष्कर्ष के आउँछ, त्यही अनुसार सूचीमा हेरफेर हुन्छ ।’
वार्ताको सम्भावित प्रभाव
यदि यो त्रिपक्षीय वार्ता सफल भयो भने रास्वपा–बालेनको आइतबारको सातबुँदे सहमतिमा कुलमान पनि समेटिने र वैकल्पिक शक्तिको सबैभन्दा ठूलो ध्रुवीकरण बन्ने अपेक्षा छ।
वार्ता जारी रहेकाले अन्तिम नतिजा केही घण्टामै आउने अनुमान गरिएको छ। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा यो वार्ताको नतिजाले वैकल्पिक राजनीतिको दिशा निर्धारण गर्नेछ।
प्रतिक्रिया