रवि–बालेन एकतालाई प्रचण्डको स्वागत : “हामी पनि कम्मर कसेर ठूला दल भित्र्याउने प्रयासमा छौं”

काठमाडौं १३ पुस : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान भएको सातबुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गरेका छन्।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यो एकतालाई निर्वाचनको मुखमा स्वाभाविक र सकारात्मक ध्रुवीकरणको रूपमा लिएको बताए। उनले रवि–बालेन एकतालाई धन्यवाद दिँदै आफ्नो पार्टी पनि ठूला दलहरूलाई समेटेर अघि बढ्ने प्रयासमा रहेको खुलासा गरे।

प्रचण्डको पूरा प्रतिक्रिया

सञ्चारकर्मीको प्रश्न– “रवि र बालेनबीच भएको सहमतिलाई कसरी हेर्नुभएको छ ?” मा प्रचण्डको जवाफ थियो :

“जसलाई मैले समर्थन गर्दै आएको थिएँ। उहाँहरूबीच एकता भएकोमा मलाई कुनै नयाँपन वा अनौठो लागेको छैन। निर्वाचनको मुखमा एकीकरण ध्रुवीकरण गर्नुभएको छ, त्यो स्वाभाविक छ। ज–जसले एकीकरण गर्नुभएको छ, धन्यवाद छ। सबैले शान्तिपूर्ण रूपमा निर्वाचन गरौं।

हामीहरूले चाहिँ १६ वटा पार्टीको एकता गर्‍यौं। हुन सक्छ एक–दुई दिनमा ठूलै पार्टी जोडिन सक्छन्। कम्मर कसेर लागेका छौं।”

आइतबार बिहान रवि लामिछाने र बालेनबीच सातबुँदे सहमति भएपछि रास्वपामा बालेनको बृहत् एकता भएको छ। सहमतिअनुसार रवि पार्टी सभापति रहने र बालेन निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार बन्ने भएका छन्।

प्रचण्डको यो प्रतिक्रियाले उनले यसअघि नै रवि–बालेन एकतालाई समर्थन गर्दै आएको पुष्टि गर्छ। साथै, आफ्नो पार्टीले पनि आगामी दिनमा ठूला दलहरूसँग एकता वा गठबन्धनको प्रयास तीव्र पार्ने संकेत दिएको छ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलहरूबीच ध्रुवीकरण र एकताको लहर चलेको छ। प्रचण्डको “कम्मर कसेर लागेका छौं” भन्ने अभिव्यक्तिले कम्युनिस्ट पार्टीले पनि ठूलो गठबन्धन वा एकताको तयारी गरिरहेको स्पष्ट पारेको छ। यो घटनाक्रमले नेपालको राजनीतिमा नयाँ समीकरणहरूको संकेत दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति