शान्ति वार्ताको तयारीबीच कीभमा रातभर आक्रमण, जेलेन्स्कीले दिए कडा प्रतिक्रिया

काठमाडौं, १३ पुस । युक्रेनको राजधानी कीभमाथि रातभर गरिएको तीव्र रुसी आक्रमणले मस्को शान्ति चाहँदैन भन्ने स्पष्ट भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।नयाँ शान्ति वार्ताको तयारीका क्रममा अमेरिकाको फ्लोरिडा जाँदै गर्दा शनिबार उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी अमेरिकी तथा युक्रेनी दूतहरूबीच सहमति बनेको २० बुँदे शान्ति योजनाबारे छलफल गर्ने कार्यक्रम छ ।स्थानीय अधिकारीहरूका अनुसार करिब १० घण्टा चलेको मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ऊर्जा संरचनामा क्षति पुग्दा कीभ र आसपासका क्षेत्रमा ४० प्रतिशत आवासीय भवनमा ताप आपूर्ति बन्द भएको युक्रेनका विकास मन्त्री ओलेक्सिय कुलेबाले जानकारी दिएका छन् ।रुसको रक्षा मन्त्रालयले भने लामो दूरीका उच्च–परिशुद्धता हतियार प्रयोग गरी ऊर्जा पूर्वाधारमा आक्रमण गरिएको र ती संरचना युक्रेनी सशस्त्र बल तथा सैन्य–औद्योगिक संयन्त्रका लागि प्रयोग भइरहेको दाबी गरेको छ ।टेलिग्राममार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कीले रुसले करिब ५०० ड्रोन र ४० मिसाइल कीभतर्फ प्रहार गरेको बताएका छन् । ती आक्रमणले ऊर्जा तथा नागरिक पूर्वाधारलाई लक्षित गरेको उनको भनाइ छ । सार्वजनिक भएका तस्वीरहरूमा अपार्टमेन्ट भवनमा ठूलो क्षति पुगेको र केही घरमा आगलागी भएको देखिन्छ ।बीबीसी पत्रकार अनास्तासिया ग्रिबानोभाको अपार्टमेन्ट भवन पनि आक्रमणको चपेटामा परेको थियो । आक्रमणका बेला उनी लिफ्टमा थिइन् तर सकुशल रहेकी छन् ।

युक्रेनको आपतकालीन सेवा विभागका अनुसार पूर्वी डार्नित्स्की जिल्लाको एक वृद्धाश्रमबाट ६८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।‘रुसी प्रतिनिधिहरू लामो कुरा गर्छन्, तर वास्तविकतामा ड्यागर मिसाइल र शाहेद ड्रोन नै उनीहरूको जवाफ हुन्’, जेलेन्स्कीले लेखेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका छन् ।उनले अमेरिकी, युरोपेली र अन्य साझेदार राष्ट्रहरूलाई रुसी आक्रामकताविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।आक्रमणपछि युक्रेनको पश्चिमी सीमासँग ५३० किलोमिटर सीमा जोडिएको पोल्यान्डले लडाकु विमान, भू–आधारित हवाई सुरक्षा प्रणाली र रडार निगरानी सक्रिय बनाएको थियो । पछि पोल्यान्डको हवाई क्षेत्र उल्लंघन नभएको निष्कर्ष निकालिएको छ ।उता, रुसको रक्षा मन्त्रालयले मस्कोसहित विभिन्न क्षेत्रमा युक्रेनका करिब २०० ड्रोन खसालिएको दाबी गरेको छ ।शनिबार नै जेलेन्स्कीले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग संक्षिप्त भेट गरेका छन् ।

नोभा स्कोटियाबाट बोल्दै उनले कीभमाथिको आक्रमणलाई ‘हाम्रा शान्ति प्रयासप्रति रुसको जवाफ’ भन्दै पुटिन शान्ति चाहँदैनन् भन्ने पुनः दोहोर्‍याए ।कार्नीले युक्रेनलाई २ अर्ब ५० करोड क्यानाडियन डलर आर्थिक सहयोग दिने प्रतिबद्धता जनाउँदै दीर्घकालीन शान्तिका लागि रुसको इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।जेलेन्स्कीले त्यसपछि युरोपेली नेताहरूसँग टेलिफोन वार्ता गर्दै ट्रम्पसँगको भेटअघिका कूटनीतिक प्राथमिकताबारे छलफल गरेका छन् । उनले शान्ति योजना अघि बढाउन बलियो अडान आवश्यक रहेको बताएका छन् ।यसैबीच, रुसी समाचार संस्था तासका अनुसार राष्ट्रपति पुटिनले शनिबार युद्धसम्बन्धी कमाण्ड तथा नियन्त्रण केन्द्रको भ्रमण गरेका छन् । सैन्य पोशाकमा देखिएका पुटिनले यदि कीभले शान्तिपूर्ण समाधान चाहेन भने रुसले सैन्य रूपमा आफ्ना लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् ।हाल प्रस्तावित २० बुँदे शान्ति योजना अमेरिकी विशेष दूत स्टिभ विट्कफले तयार पारेको पुरानो २८ बुँदे प्रस्तावको संशोधित रूप हो, जसलाई पहिले रुसअनुकूल मानिएको थियो । जेलेन्स्कीले नयाँ प्रस्तावलाई युद्ध अन्त्यको आधारभूत दस्तावेज भनेका छन्, तर ट्रम्पले अन्तिम स्वीकृति आफैंले दिने चेतावनी दिएका छन् ।प्रस्तावमा अमेरिका, नाटो र युरोपेली मुलुकबाट सुरक्षा प्रत्याभूति, तथा पुनः आक्रमण भए संयुक्त सैन्य प्रतिक्रिया जनाउने व्यवस्था समेटिएको बताइएको छ । डोनबास क्षेत्रको नियन्त्रण वार्ताको मुख्य अड्चन बनेको छ, यद्यपि जेलेन्स्कीले त्यहाँ स्वतन्त्र आर्थिक क्षेत्रको विकल्प खुला रहेको बताएका छन् ।ट्रम्पले आइतबार उक्त शान्ति प्रस्ताव आफूले हेर्ने बताएका छन् र पुटिनसँग पनि चाँडै कुरा गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति