काठमाडौं १२ पुस । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको उच्चस्तरीय बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार बालुवाटारमा भएको यो बैठकले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अनिश्चिततामा महत्वपूर्ण राहत दिएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अपराह्न पौने ४ बजे बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलका अनुसार बैठकमा सबै नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका छन्। कांग्रेस सभापति देउवाको भनाइ उद्धृत गर्दै रावलले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ। अरू दल पनि रेडी छ। सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ।”
प्रधानमन्त्री कार्कीको सन्देशः “यो घर तपाईंहरूकै हो”
छलफलको सुरुवातमा प्रधानमन्त्री कार्कीले तीनै नेताहरूलाई निमन्त्रणा स्वीकार गरेकोमा धन्यवाद दिइन्। उनले स्पष्ट गरे अनुसार यो अन्तरिम सरकारको एकमात्र कार्यादेश निर्वाचन सम्पन्न गराउनु हो।
“यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,” कार्कीले भनेकी थिइन्।
उनले निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन रक्षाबाहेकका सबै मन्त्रालय अन्य मन्त्रीहरूलाई जिम्मा लगाइसकेको जानकारी दिइन्। “मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने– यो निर्वाचन जसरी पनि सफल पारौं। सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ,” उनले थपिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइएको र सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताइन्। “अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं। यो हामी सबैको जिम्मेवारी हो,” उनको आग्रह थियो।
राजनीतिक अर्थ
यो सहमतिले वैकल्पिक शक्तिहरू (रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ लगायत) को एकता प्रयासमा देखिएको अवरोधबीच परम्परागत दलहरूले निर्वाचनलाई स्वीकार गरेको सन्देश दिएको छ।
जेनजी आन्दोलनपछि उत्पन्न दबाब र अन्तरिम सरकारको कार्यादेशलाई सम्मान गर्दै प्रमुख दलहरू निर्वाचनमा होमिने भएका छन्।
निर्वाचन आयोगले पनि तयारी तीव्र पारेको छ। सुरक्षा व्यवस्था र मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगेको छ। यो सहमतिपछि फागुन २१ को निर्वाचन तोकिएकै मितिमा हुने निश्चित भएको छ।
अब सबैको नजर वैकल्पिक शक्तिहरूको आन्तरिक छलफल र उम्मेदवारी तयारीमा केन्द्रित हुनेछ।
प्रमुख दलहरूको प्रतिबद्धताः निर्वाचनमा सहभागी हुने सहमति, के के कुरा भयो ?
प्रतिक्रिया